
सुर्खेत । जबरजस्ती करणी र चोरी मुद्दाका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ । मुगुको खत्याड गाउँपालिका–११ का शुक्रराज शाहीलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत मुगुमा पेश गरेको हो ।
भारतमा पञ्जाबमा लुकेका शाही लकडाउनको बेला घर फर्किएर लुकेर बसेको अवस्थामा मुगु प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
०७४ फागुन २१ गते अदालतले शाहीलाई १० वर्ष कैद र ६९ हजार तीनसय रुपैयाँ जरिवनाको फैसला गरिएको कार्यालयले जनाएको छ । खत्याडको लेकमा लुकेर बसेका शाहीलाई पक्राउ गरेर अदालतमा पेश गरिएको छ ।
यस्तै, मुगु प्रहरीलले अभद्र व्यवहार मुद्दा फरार तीन जनालाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । उनीहरुले ३० हजार धरौटीमा छुटेको प्रहरीको भनाई छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले तीन वर्ष कैद सजाय र ३६ लाख ३२ हजार पाँचसय जरिवना फैसला भएका एक जनालाई पक्राउ गरि अदालतमा पेश गरेको जनाएको छ ।

नेपालीरैबार । २०७७ भाद्र ११, बिहीबार