प्रहरीकाे निगरानीमा डा. केसी, आफुलाई तर्साउँदैमा सत्याग्रह नराेक्ने चेतावनी

सुर्खेत । चिकित्सा शिक्षाको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रहलाई कसैले रोक्न नसक्ने बताएका छन्। हाल जुम्लामा रहेका डा. केसीले स्थानीय तह र प्रशासनले अवरोध र घेराबन्दीको प्रयास गरे पनि सत्याग्रह नरोकिने बताए। अबको सत्याग्रह निर्णायक हुने उनको भनाइ छ।

डा‍‍. गोविन्द केसी झन्डै दुई महिनादेखि कर्णालीमा छन्। विपन्न नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्न दुर्गम बस्तीमा पुगेका डा. केसीलाई स्थानीय तहले माथिको आदेश भन्दै काममा अवरोध गरिरहेका छन्। त्यही क्रममा जुम्लामा पनि उनीमाथि प्रहरीले निगरानी बढाएको छ। आफू बस्ने होटलमै प्रहरीले घेराबन्दी गरेपछि डा. केसीले अब कसैले तर्साउँदैमा आफू पछाडि नहट्ने बताएका हुन्।

‘गरिब र विपन्न जनताको निःशुल्क उपचारका लागि कर्णाली आएको हुँ’, डा. केसीले भने, ‘तर राज्य र प्रशासनले ममाथि अवरोध गरिरहेका छन्, काम गर्न नदिएर घेराबन्दी गरिएको छ। म कसैले तर्साउँदैमा ब्याक हुने मान्छे होइन, मेरो सत्याग्रहलाई अब कसैले रोक्न सक्दैन।’ उनले आफूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै अब कर्णालीमै पुनः सत्याग्रह थाल्ने बताए। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययन सञ्चालन गर्न सरकारलाई निरन्तर दबाब दिइरहेका छन्।

यही मागसहित उनले दुई वर्षअघि जुम्लामै सत्याग्रह थालेका थिए। तर त्यति बेला डा. केसीलाई सरकारले जबर्जस्ती हेलिकप्टरमा काठमाडौं पुर्‍याएको थियो। त्यस बेला प्रहरी र उनका समर्थकबीच झडप हुँदा शिक्षण अस्पतालमा भौतिक क्षतिसमेत भएको भयो। त्यस बेला सरकारले गरेको सम्झौता र सहमति हालसम्म कार्यान्वयन नभएपछि यसपटक पुनः डा. केसीले जुम्लामा अनशन सुरु गर्ने तयारी गरेका छन्।

यही कारण पनि स्थानीय प्रशासन र प्रहरीले उनीमाथि निगरानी बढाउँदै अवरोध गर्दै आएका हुन्।डा. केसीले विकट गाउँमा मात्र नभएर सदरमुकाम खलंगास्थित अस्पतालमा पुगेर सेवा गर्न नपाएको बताए। यही भदौ १७ गतेसम्मका लागि अनशन स्थगित गरेका डा. केसीले १८ गतेबाटै सत्याग्रह सुरु गर्ने बताए।

तपाईको प्रतिक्रिया