
सुर्खेत । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजबाट सुरु भएको छ ।
सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।
यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत रहेको छ । पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वासका आधारमा श्राद्ध मनाइने गरिन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रहृमकपाल तीर्थमा गरिने ब्रहृमकपाली श्राद्ध जस्ता श्राद्धहरु प्रचलित रहेको छ ।
अरुको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरुको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो ।
यसैविच, वीरेन्द्रनगर नगरपालिकाले पृतिपक्ष (साेह्र श्राद्ध) काे अवधिमा पुराेहितलाइ घरमा बाेलाएर श्राद्ध नगर्न अनुराेध गरेकाे छ । स्थानीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले कसैले मानिसहरुको जमघट गरी पूजाआजा र पितृकार्य गरेको पाईएमा पुरोहितलाई क्वारेन्टाईनमा राखिने र त्यस्तो कार्यको लागि जमघट गरेको घरपरिवार शील गरिने नगरपालिकाले जनाएकाे छ ।
क्वारेन्टाइनमा राखिने उनिहरूकाे ७ दिनपछि कोरोना परीक्षण गरेर मात्र समुदायमा घुलमिल हुन दिईने र परीक्षण वापतको खर्च स्वयंले व्यहाेर्नुपर्ने बताइएकाे छ ।
साथै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्ने, पेशा ब्यवशाय तथा काम बिषेशले नियमित घरबाहिर जानुपर्ने परिवारको सदस्यले संक्रमण न्यूनीकरणका सम्पूर्ण उपायहरु अपनाएर कार्यक्षेत्रमा जाने र घरमा रहँदा सकेसम्म एकान्तबास बस्ने लगायतका कार्य गर्न नगरपालिकाले अनुराेध गरेकाे छ ।
प्रेश बिज्ञप्ति तथा नगरबासीमा अपिल
यस नगरपालिकाको मिति २०७७ भाद्र १६ गते बसेको स्थानीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकबाट देहायका निर्णयहरु भएको हुँदा सोको पालना गरिदिनुहुन सरोकारवाला सम्पूर्णमा हार्दिक अपिल गरिन्छः
१. यहि मिति २०७७ भाद्र १७ देखि सुरु हुने पितृपक्ष (सोह्र श्राद्ध) को अवधिमा पुरोहितहरुलाई घरघरमा नबोलाई आफ्ना पितृहरुलाई श्रद्धा सुमन अर्पण गरिदिन सम्पूर्ण नगरबासीमा अनुरोध गर्ने र नगरक्षेत्रमा जजमानी गर्नुहुने पुरोहितज्यूहरुलाई समेत घरघरमा नजान अनुरोध गर्ने । यदि कसैले मानिसहरुको जमघट गरी पूजाआजा र पितृकार्य गरेको पाईएमा पुरोहितलाई क्वारेन्टाईनमा राखिने र त्यस्तो कार्यको लागि जमघट गरेको घरपरिवार शील गर्ने । निजहरुलाई ७ दिनपछि कोरोना परीक्षण गरेर मात्र समुदायमा घुलमिल हुन दिईने र परीक्षण वापतको खर्च निजहरु स्वयंले ब्यहोर्नुपर्ने,
२. सम्पूर्ण नगरबासीहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्ने, पेशा ब्यवशाय तथा काम बिषेशले नियमित घरबाहिर जानुपर्ने परिवारको सदस्यले संक्रमण न्यूनीकरणका सम्पूर्ण उपायहरु अपनाएर कार्यक्षेत्रमा जाने र घरमा रहँदा सकेसम्म एकान्तबास (Home Quarantine) बस्ने,
३. कोभिड १९ को सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै नगरबासीमा कोरोना संक्रमण पुष्टी भएको खण्डमा निजसँगै बस्ने एकाघरका परिवारलाई वडा कार्यालयको सिफारिसमा निःशुल्क स्वाब संकलन र परिक्षण गर्ने ब्यवस्था मिलाईने,
४. विदेशबाट नगरपालिकामा भित्रिने सम्पूर्ण ब्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाईन राख्ने र कोरोना परीक्षण गरेर मात्र घरमा पठाईने,
५. लक्षण नदेखिएका र क्न्ट्रयाक ट्रेशिङ् मा परेका ब्यक्तिहरुको स्वाब संकलन गर्दा अनिवार्य रुपमा वडा कार्यालयको सिफारिस लिई आउनुपर्ने स्वाब संकलनको क्रममा त्यस्ता ब्यक्तिहरुको नमुना लिनुपूर्व नगरपालिकाले तोकेको शर्त सहितको मञ्जुरीनामा कागज गराएर मात्र संकलन गर्ने, संक्रमण पुष्टि भएका ब्यक्तिहरुलाई देहाय बमोजिम प्राथमिकतामा एकान्तबास (Isolation) मा राख्नेः
क) आफ्नै घरमा सुरक्षित बस्ने,
ख) नगरपालिकाले तोकेको स्थानमा सशुल्क आइसोलेशनमा बस्ने,
ग) वडा कार्यालयको विपन्न नागरिक सिफारिस सहित आएमा नगरपालिकाको निःशुल्क आईसोलेशनमा बस्ने,
६. नगरपालिकाका सबै टोलहरु समेट्ने गरी प्रत्येक वडा कार्यालयको समन्वय र मातहतमा रहने गरी पाँच पाँच जनाको निगरानी समूह तयार गर्ने र निजहरुलाई ‘सुरक्षित म र मेरो समुदाय’ अंकित जर्सीहरु उपलब्ध गराउने । यस्तो समूहले संक्रमण न्यूनीकरणको लागि जनचेतना फैलाउने र वडा कार्यालयसँग समन्वय गरी निगरानीको कार्य गर्ने ।
७. कटकुवा स्वास्थ्य चौकीबाट संचालित (कोभिड १९ ब्यवस्थापनको सेवा बाहेक) सम्पूर्ण सेवाहरु अर्को ब्यवस्था नभएसम्मको लागि अन्यत्र स्थानबाट संचालन गर्ने,
८. हाल नगरपालिकाले संचालनमा ल्याएको आईसोलेशन केन्द्रलाई कटकुवा स्वास्थ्य चौकीको नवनिर्मित भवनमा न्यूनतम् मर्मत पूर्वाधार तयार गरी सारी ४० शैयाको आईसोलेशन केन्द्र ब्यवस्थापन गर्ने

नेपालीरैबार । २०७७ भाद्र १७, बुधबार