गत वर्ष समाजिक विकास मन्त्रालयको झण्डै तीन अर्ब बजेट खर्च

सुर्खेत । कर्णााली प्रदेशको सामाजिक विकास मन्त्रालय गत आर्थिक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को कुल बजेट मध्ये २ अर्ब ८९ करोड ९४ लाख ३७ हजार रुपैयाँ खर्च गरेको जनाएको हो ।


मन्त्रालयले चालु तर्फ २ अर्ब ९२ करोड ५४ लाख ७२ हजार र पुँजिगत तर्फ १ अर्ब ७७ करोड ४७ लाख ९७ हजार गरी ४ अर्ब ७० करोड २ लाख ६९ हजार बजेट विनियोजन गरेको थियो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तगर्तको ३५ करोड २७ लाख ५९ हजार बजेट थप भई ५ अर्ब ५ करोड ३० लाख २८ हजार बजेट विनियोजन भएको थियो । मन्त्रालयको कुल बजेको ६१ दशमलव ६९ प्रतिशत र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तगर्त ५७ दशमलव ३८ प्रतिशत बजेट खर्च भएको छ ।

सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावलले जनशक्ति अभावका कारण कार्यसम्पादन गर्न नसकिएको बताए । उनले गत वर्षको बजेट कोभिड १९ केन्द्रित भएकाले अन्य कार्य सम्पादन गर्नमा समस्या भएको जनाए । यो वर्ष परिणाम मुखी काम गर्नेगरी मन्त्रालय लागेको उनको भनाई छ ।

कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले ३० करोड ८७ लाख ४० हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

मन्त्री रावलले दश वटै जिल्लामा भेन्टीलेटर र आइसीयु कक्ष थप्ने काम भएको बताए । समाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले गत वर्ष कोभिड केन्द्रित भएको बजेट यस वर्षको बजेटले अन्य कामलाई पनि प्राथमिकता दिने बताए ।

तपाईको प्रतिक्रिया