कर्णालीमा महिलाको तुलनामा पुरुषमा बढी कोरोना संक्रमण

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणको वृद्धिदर बढ्दै गएको छ । कर्णालीमा महिलाको तुलनामा पुरुष बढी संक्रमित भएको तथ्यांक रहेको छ । संक्रमणका दृष्टिले बढी जोखिममा पनि पुरुष रहेको बताईएको हाे ।

कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये १६ प्रतिशत महिला र ८४ प्रतिशत पुरुषमा संक्रमण पुष्टि भएको छ । बुधबार सम्ममा कर्णालीमा २ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर प्रदेशका कुनै पनि कोभिडका बिरामीलाई लक्षण भने देखिएको छैन ।

स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशिका अनुसार कुल कोरोना संक्रमितमध्ये ४२ प्रतिशत ६१ देखि माथिको उमेर समुह संक्रमित भएको छ । यस्तै ३१ देखि ४० वर्ष उमेर समुहका २३ प्रतिशत संक्रमित भएको स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

११ देखि २० उमेर समुहका १५ प्रतिशत रहेका छन् भने ४१ देखि ५० वर्ष उमेर समुहका ९ प्रतिशत रहेका छन् । ५१ देखि ६० वर्ष उमेर समुहका ५ प्रतिसत, ० देखि १० वर्ष उमेर समुहका ४ प्रतिशत रहेका छन् । यसका साथै सबै भन्दा कम २१ देखि ३० उमेर समुहका २ प्रतिसत कोरोना संक्रमित भएको निर्देशक भण्डारीले जानकारी दिइन ।

निर्देशक भण्डारीका अनुसार, कोभिड १९का कारण मानिसहरूमा रोग लाग्नबाट सुरक्षित हुने उपायको सचेतनामा वृद्धि भएको छ । नागरीकमा हात धुने बानिको बिकास हुनुका साथै सामाजिक दूरीका कारण पनि रोगको प्रकोप तथा संक्रमणमा कमि आएको बताउदै नागरिकमा हात धुने चेतना आएदेखि झाडा पखाला, हैजा, जुका लगाएतका रोगहरुमा कमि आएको छ ।

साथै प्रदेशस्तर तथा स्थानीय तहसम्म प्रयोगशाला परीक्षण विस्तार भएको छ । कोभिड १९ का कारण अभिलेख तथा प्रतिवेदनमा वृद्धि भएको छ भने नागरिकस्तरमा सूचना संप्रेषण भएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया