नाकामा खटिएका स्वास्थ्यकर्मीहरुको म्याद थप

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले नाकामा खटिएका स्वास्थ्यकर्मीहरुका म्याद थप गरेको छ । कोरोना रोकथाम तथा प्रतिकार्यका लागि कर्णाली प्रदेशका पाँच वटा नाकामा खटाइएका स्वास्थ्यकर्मीहरुको म्याद थप गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको हो ।

पाँच नाकामा खटाइएका ३२ जना हेल्थ असिष्टेन्ट र २६ जना स्टाफ नर्स तथा अनमी गरी ५८ जना स्वास्थ्यकर्मीहरुको करार सम्झौताको म्याद असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

उनकाअनुसार कोरोनाको संक्रमण अहिलेको जस्तै यथावत रहेमा ०७८ असार मसान्तसम्म थप्न सकिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले कोरोना रोकथाम तथा प्रतिकार्यका लागि प्रदेशका विभिन्न जिल्लामा खटिएका १७६ जना सामुदायिक नर्सहरुको म्याद पनि ६ महिना थप गरी साविक बमोजिमकै काममा खटाउने निर्णय गरिएको छ ।

यस्तै, बैठकले साविक घरेलु तथा साना उद्योग विकास समितिका अस्थायी कर्मचारीहरुको म्याद आगामी पुस मसान्तसम्म लागि थप गरी हाल कार्यरत कार्यालयहरुमा साविककै सेवासुविधा पाउनेगरी कामकाजमा खटाउने निर्णय पनि गरिएको प्रवक्ता केसीको भनाई छ ।

बैठकले सामाजिक विकास मन्त्रालयको कार्य संचालन र कार्यान्वयन कार्यविधि २०७७, भूमि व्यवस्था, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन एकीकृत कार्यविधि २०७७ स्वीकृत गरेको छ ।

कर्णाली प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७ लाई मन्त्रीपरिषद्, प्रशासन तथा विधेयक समितिमा पठाएर समितिको निर्णअनुसार गर्ने निर्णय पनि गरिएको प्रवक्ता केसीको भनाई छ ।

प्राविधिक जनशक्ति करारमा छनौट गर्ने सम्बन्धी पहिलो संशोधन कार्यविधि र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया