किन ओइरो लाग्दैछन्, गुराँसेमा पर्यटक ? (भिडियो सहित)

सुर्खेत । चिसो हावापानी । स्वच्छ वातावरण । चारैतिर गुराँसको घना जंगलले घेरीएको सुन्दर बस्ती अर्थात गुराँसे । सुर्खेतसँग सिमाना जोडिए पनि दैलेख जिल्लामा पर्ने यस गुराँसे क्षेत्रको नामबाट स्थानीय तहको नाम पनि गुराँस गाउँपालिका राखिएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको गुराँसे क्षेत्र नेपालको राष्ट्रिय फुल लाली गुराँसको धनी क्षेत्र हो ।

यहाँ पुग्ने जो सुकै पर्यटक होस् वा यात्रुदेखि पाहुनाहरु । सबै मनोरम दृष्यसँगै भौगोलिक विविधतामा रमाउँछन् । यस पटक कोरोनाले समस्या ल्यायो । तर यहाँ बाहै्रमास आन्तरिक तथा बाह्य पर्यटकको ओहिरो लाग्छ । बसन्त ऋतुमा यहाँ फुल्ने लाली गुराँसका फाटँहरुमा गुराँससँगै रमाउन । गर्मीको बेला सितल हावापानीसँगै हरियाली दृष्यमा रमाउन । र हिउँदमा हिउँ खेल्नका लागि पनि गुराँसेमा पर्यटकको ओइरो लाग्छ ।

गुराँसेमा पर्यटक भित्र्याउने सम्भावना देखेर गाउँपालिका पनि गुराँस संरक्षणसँगै पूर्वाधार निर्माणमा लागेको छ । पर्यटकलाई मध्यनजर गरी गुराँसेमा भ्यू टावर सहित गुराँस रुखको मूर्ती बनाइएको छ ।

मूर्तीमा सजाईएका गुराँस फुलहरुले वरिपरी देखिने गुराँसको घना जंगलभरी बाह्रैमास गुराँस फुलिरहेको जस्तो अनुभुति हुन्छ । गुराँस रुखको मूर्तीमा सजिएका डाँफे, चिल, सर्प, बाध लगाएतका आकारले जनावर र पशुपक्षिंले पनि गुराँसेको जंगलमा बस्न रुचाएको अनुभुति हुन्छ । त्यही मूर्तीमै बन्चरोले रुख काट्न लागेको संकेत छ । त्यसले पनि हालतको परिस्थीति अनुसार भविष्यमा गुराँस लोभ हुदै जाने खतरा देखाउँछ ।

यहाँ बनाईएको भ्यू टावरबाट गुराँसका फुलहरु मात्रै होइन । कान्जिरोवा लगाएतका हिमशृंखला, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का होचो भुभाग र केही ठाउँहरुको पनि अवलोकन गर्न सकिन्छ ।

पर्यटक तान्नका लागि गुराँस संरक्षण अभियान र भ्यू टावर निर्माणको काम तिब्र पारिएको गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए ।

उनका अनुसार डिभिजन वन कार्यालय दैलेखको ६८ लाख ४३ हजार बढीको सहयोगमा भ्यू टावरसँगै गुराँस रुखको मूर्ती निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ बाट सुरु भएको निर्माणको बाँकी काम अन्तिम चरणमा पुगेको छ । आगामी दिनमा भ्यू टावर, गुराँस रुखको मूर्ती तथा गुराँसे क्षेत्रको अवलोकन गर्न आउने पर्यटकका लागि विशेष प्याकेजको समेत व्यवस्था गर्ने तयारी रहेको अध्यक्ष वलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया