कोरोना भाइरस विरुद्ध गाउँगाउँमा सचेतना

जुम्ला । तिला गाउँपालिकाले गाउँगाउँमा कोरोनाविरुद्धको सचेतना फैलाउने कार्यलाई तिब्रता दिएको छ । पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली करिडोरका क्षेत्रमा कार्यबहाक अध्यक्ष विष्णु बुढा र गाउँमा वडाध्यक्षको नेतृत्वमा सचेतना फैलाउने कार्य भइरहेको हो ।

शनिबार कार्यबहाक अध्यक्ष बुढाको नेतृत्वमा कर्णाली करिडोरको कुडारी, त्रिवेणी, डुण्डेली, रारालिही र नाग्म बजारमा सचेतना फैलाइएको छ । माइकिंग गरेर मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने र सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्न आग्रह गरिएको हो ।

हरेक भित्तामा सचेतना फैलाउने खाले सुचना टाँस समेत गरिएको छ । सचेतनाका लागि प्रत्येक वडालाई आवश्यक सामाग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले जानकारी दिए ।

उनले भने, ‘पहिले पनि सचेतनाका क्रियाकलाप भए, अहिले पनि सचेतनाको कार्य अघि बढाएका छौँ । जनता सुसुचित भएको खण्डमा कोरोना संक्रमण अवश्य रोकिने छ । जसका लागि जनता जागरुक बन्नुपर्ने देखिन्छ ।’

जुम्लाको तिला गाउँपालिका ७ मा तीन जनाको कोरोना पोजेटिभ देखिएपछि सचेतनाका विभिन्न माध्यम अपनाउन थालिएको हो । गाउँमा सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्दै सचेतनाका काम भइरहेको छन् ।

गाउँकार्यपालिकाको बैठकले कोरोना विरुद्धको अभियानमा लागेका सबैलाई कोरोना विमा गरिदिने निर्णय समेत गरेको छ । आइसोलेसनमा खटिनेको पनि बिमा गर्ने निर्णय भएको कार्यबहाक अध्यक्ष बिष्णु बुढा बताउँछिन् ।

उनले भनिन्,‘कोरोनाको न औषधि छ, नत कुनै खोप नै बनेको छ । सचेतना र सावधानीको विकल्प छैन । फेरी एक पटक गाउँमा गएर जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेका छौँ ।  कोरोना संक्रमण रोक्न सचेतना बाहेको बिकल्प छैन् ।’

तपाईको प्रतिक्रिया