पश्चिम सुर्खेतमा सलवलाए काठ तस्कर, एकै महिना नौसय क्यूविक काठ बरामद

सुर्खेत । कोरोना महामारीका कारण राज्यको ध्यान कसरी नियन्त्रण गर्ने भन्नेतर्फ उन्मुख छ । कोरोनाले नागरिकको जनजीवन प्रभावित भइरहेको बेला सुर्खेतको पश्चिम क्षेत्रमा भने काठ तस्करहरु सलबलाएका छन् । तस्करहरुले धमाधम सालका रुख ढालेर जंगलमै मचान बनाएर काठ तस्करी गरिरहेको भेटिएको छ ।

पञ्चपुरीको तोक्मा र मुरमुरे क्षेत्रमा तस्करहरुले सालका रुख ढालेर चिरान गरेर काठ ओसार्ने गरेको सूचना पाएपछि प्रहरीले गस्ती बढाएको छ । पछिल्लो एक महिनामा ईलाका प्रहरी कार्यालय बावियाचौरको टोलीले नौसय क्यूविक काठसहित एक जनालाई पक्राउ गरेको छ ।

हिजोमात्रै प्रहरीले पञ्चपुरी नगरपालिका–५ मुरमुरेस्थित काल ढुंगा सामुदायिक वनबाट अबैध सालको चिरान काठ र चिर्ने तयारीमा राखिएको काठ प्रहरीले बरामद गरेको छ । विशेष सुराकीको आधारमा बावियाचौरबाट खटिएको प्रहरी टोलीले काठ र औजार बरामद गरेको हाे ।

बरामद गरिएको काठ र औजार पञ्चपुरी–सब डिभिजन वन कार्यालय बावियाचौर सुर्खेतका वन रक्षक टेकनारायण श्रेष्ठलाई बुझाइएको छ । यस्तै, बावियाचौर प्रहरी र सालकाेटबाट खटिएकाे प्रहरी टाेलीले पञ्चपुरी नगरपालिका–३ तोक्मामा अवैध सालको काठ काटिरहेको अवस्थाका तोक्माका ५२ वर्षीय नारबहादुर शाहीसहित काठ बारमद गरेको छ ।

शाहीको साथबाट काठ चिर्न प्रयोग गरिने आरा एक र बन्चारो तीन थान बरामद गरिएको प्रहरीले बताएको छ । काठसहित पक्राउ परेका शाहीलाई सब डिविजन वन कार्यालय बड्डीचौरका रेन्जर सन्तबहादुर थापालाई बुझाएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट सामुदायका वनका पदाधिकारीहरुले वनको निगरानी नगर्दा काठ तस्करहरु सलवलाएको जनाएको छ ।

 

काठ तस्करी रोक्नमा सामुदायिक वनसँग समन्वय गर्दै कर्मचारीहरुलाई परिचालन गरिएको डिविजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द दाहालले जानकारी दिए । आपूर्ती काठ रोकिएकाले तस्करहरु सलवालाएको सत्य भएको बताउँदै दाहालले निराकरण गर्न वनमा गस्ती बढाउने र गोप्य सूचनाका आधारमा व्यक्ति पक्राउ गरिरहेको बताए ।

‘प्रहरी र वनको टोलीले मध्यराती वनमा गएर काठसहित व्यक्तिलाई पक्राउ गरेका छन्’ दाहालले भने, ‘काठ तस्कर रोक्न स्थानीय पालिकाका जनप्रतिनिधीसँग पनि समन्वय गरेर काम गरिरहेका छौं ।’

  

तपाईको प्रतिक्रिया