चामुण्डामा झण्डै दुइ कराेडकाे लागतमा डेरी उद्याेग सञ्चालन

दैलेख (चामुण्डा) । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका झण्डै दुइ कराेड लागतमा डेरी उद्याेग सञ्चालन गरिएकाे छ । चामुण्डाविन्द्रासैनी-२ चाल्ने चौतारामा जिल्लाकै नमुना डेरी उद्याेग सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीले स्थापना गरेको हाे ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाट १ करोड, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट ३१ लाख, सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीबाट ३० लाख र सुर्खेत डेरी उद्याेगबाट ६ लाखसहित १ करोड ६७ लाख लागतमा डेरी सञ्चालनमा ल्याइएकाे छ ।

डेरी उद्याेगकाे उद्घाटन गर्दै  कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले आर्थिक समृद्धिको लागि कृषि महत्वपूर्ण पाटो भएको र डेरी स्थापना गर्ने सहकारीलाई धन्यवाद दिए । शाहीले कृषि प्रवर्द्धन कार्यक्रमका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कृषि नै समाज रूपान्तरणको मुख्य पाटो भएको भन्दै कृषि व्यावसायी तथा उद्यमीलाई मन्त्रालयले सहुलियतपूर्ण ऋण कार्यक्रम सञ्चालन गरेको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सी. ले जानकारी दिइन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले डेरीलाई थप आधुनिक बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

डेरी सञ्चालक समितिका सचिव रविन्द्र कँडेलले लिटरका आधारमा नभएर दुधको गुणको आधारमा मूल्य निर्धारण गरिएको जानकारी दिए । ‘कृषकबाट प्रतिलिटर ६० देखि ६५ रूपैयाँमा दुध खरिद गर्छौं, दुधमा रहेको फ्याटको मात्राअनुसार प्रतिलिटर ९० देखि १०० रूपैयाँसम्ममा पनि खरिद गर्ने गरेका छौं’ सचिव कँडेल भने  ।

भैंसी पाल्न जागर नदेखाउने  कृषकहरू अहिले प्रति घरमा चार वटा भैंसी पाल्न थालेकाले चामुण्डामा संकलन भएकाे दुध सिँधै सुर्खेत पठाइने कंडेलले बताए ।

तपाईको प्रतिक्रिया