वर्ल्डलिंकले आईपीओ जारी गर्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक लिमिटेडले २५ वर्ष पूरा गरेको छ । वर्ल्डलिंक नेपाल टेलिकम र एनसेलपछि कारोबार र ग्राहकका आधारमा तेस्रो ठूलो कम्पनी हो ।

२५ वर्ष पूरा भएको अवसरमा मंगलबार अनलाइनमार्फत पत्रकार सम्मेलन गर्दै कम्पनीले आगामी तीन वर्षभित्र सर्वसाधारणका लागि सेयर जारी गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले वर्ल्डलिंक पब्लिक कम्पनीका रूपमा दर्ता भइसकेको र सेयर जारी गर्न तयारी सुरु गरिसकेको बताए ।

नेपालमा खपत हुने कुल ब्यान्डविथको ४३ प्रतिशत हिस्सा वर्ल्डलिंकको भएको उनको दाबी छ । कम्पनीले आगामी दिनमा ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने रणनीति बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

उक्त अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफूले म्याग्दीसहितका १६ जिल्लामा वायरलेस इन्टरनेटको सुरुवात गर्दा वर्ल्डलिंकले निःशुल्क ब्यान्डविथ उपलब्ध गराएको भन्दै सहयोगप्रति आभार व्यक्त गरे ।

कम्पनीले देशभरका १० हजार सार्वजनिक स्थानमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराएको वर्ल्डलिंकका निर्देशक विजय जालानको भनाइ छ ।

४ लाखभन्दा बढी घरायसी ग्राहक बनाएको वर्ल्डलिंकको इन्टरनेट २१ लाख मानिसले प्रयोग गर्ने कम्पनीको दाबी छ । वर्ल्डलिंक गत वर्ष नेपालको १० औं ठूलो भ्याट योगदानकर्ता बनेको थियो । गत वर्ष वर्ल्डलिंकमा बेलायती सरकारको स्वामित्व रहेको कम्पनी सीडीसीले वैदेशिक लगानी भित्र्याएको थियो ।

तपाईको प्रतिक्रिया