आर्थिक मन्त्री ज्वालाले गरे रावा बैंककाे वीरेन्द्रनगर शाखा उद्घाटन

नाफा कमाउने मात्रै हैन भरपर्दो र विश्वासिलो सेवा दिनुस् : मन्त्री ज्वाला

सुर्खेत । राष्ट्रिय बाणिज्य बैंकको वीरेन्द्रनगर शाखाका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका छन् । कर्णाली प्रदेशमा बैंकले १९ औं शाखाको रुपमा वीरेन्द्रनगर शाखा स्थापना गरेर सञ्चालन गरेको हो । शाखा उद्घाटन गर्दै मन्त्री ज्वालाले ग्राहकहरुलाई प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।

बाणिज्य बैंकले बैंक ईतिहासमा बनाएको प्रतिष्ठालाई जोगाइराख्न अझै अब्बल र प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीलाई मन्त्री ज्वालाले आग्रह गरे । उनले तल्लो वर्गाका नागरिकहरुको जीवनस्तर उकास्ने खालका कर्जाहरु प्रवाह गर्न बैंकलाई सुझाव दिए ।

‘उत्पादन र उद्योग क्षेत्रका साना व्यवसायीलाई पनि प्राथमिकतामा राखेर ऋण लगानी गर्नुहोस्’ ज्वालाले भने, ‘बैंकहरुले जोखिम क्षेत्रमा लगानी नगर्ने परिपाटीको अन्त्य बाणिज्य बैंकबाट सुरुवात गर्न आवश्यक छ, नागरिकहरुको जीवन स्तर माथि उकास्न जोखिम क्षेत्रमा पनि लगानी गर्नुहोस् ।’

नाफा कमाउने मात्रै हैन सेवा दिने बैंक भएकाले पनि भरपर्दो र विश्वासिलो सेवा दिन मन्त्रीको सुझाव थियो । ग्राहकहरुको अत्यधिक चाप बढेपछि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा बैंकले दोस्रो शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकमा लकरसहितको सुविधाबाट समेत रहेको राष्ट्रिय बाणिज्य बैंक कर्णाली प्रदेश प्रमुख रामबहादुर थापाले जानकारी दिए । कार्यक्रममा राष्ट्र बैंक कर्णालीका प्रमुख डा. शालिकराम पोखरेल, सुर्खेत शाखाका प्रमुख लिलाराम ढुंगाना, वीरेन्द्रनगर शाखाका प्रमुख जयप्रकाश बराल लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया