
जुम्ला । विगतका वर्षमा बलाष्ट रोगले सताएको जुम्ली मार्सीधानमा यस वर्ष नयाँ रोग अर्थात ब्राउन स्टोप रोग देखा परेको छ । कृषि विज्ञ सहितको एक टोलीले तातोपानी गाउँपालिकाका ४ र ५ वडाका मार्सीधान रोपेका खेतमा गरेको अनुगमनबाट धानमा नयाँ रोग ब्राउन स्पोट रोग लागेको पत्ता लागेको छ ।
तातोपानी गाउँपालिका कृषि संयोजक धर्मराज आर्चायले भने,“अनुसन्धानका क्रममा फाटफुट रुपमा मात्रै बलाष्ट रोग देखियो । तर ब्राउन स्पोट रोगले मार्सीधानमा अलि बढी संक्रमण गरेको छ ।” प्रयाप्त सिचाई र नाईट्रोजनको अभावले मार्सीधानमा ब्राउन स्पोट रोग लाग्ने कृषि संयोजक आर्चायले उल्लेख गरे । यदपी, ब्राउन स्पोट रोगका कारण मार्सीधानको उत्पादनमा भने कुनै गिरावट नआउने कृषि विज्ञको भनाई छ ।
तर धानमा नयाँ नयाँ रोगले संक्रमण गर्दा कृषकदेखि विज्ञहरु मार्सी बचाउन चिन्तित छन् । कार्तिक महिना मार्सी भित्राउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने कृषि विज्ञले बताएका छन् । यतिबेला जुम्लाका पुर्वमा पर्ने विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने छुमचौर र पश्चिममा पहिलो पटक धानखेती भएको लाछु ज्युलोमा मार्सीधान बाला झुलि सकेका छन् ।
तर ब्राउन रोगका कारण उत्पादन नघटेपनि साउनमा वर्षातका कारण डुवानमा परेका मार्सीखेतहरुको उत्पादन घट्ने चिन्तामा किसान छन् । खेतभरी बालुवा भरिएपछि हजारौं रोपनी मार्सीखेत बगरमा परिणत भएका थिए । धान फल्ने बेला नयाँ रोगको संक्रमण र बालुवाले खेत भरिँदा उत्पादन सोचे जस्तो नहुने तातोपानीका २ का किसान दत्त बुढाले बताए ।
वर्षेनिक मार्सीधानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका हुन् । तर वर्षैपिच्छे हुने अध्यायन अनुसन्धानले मार्सीधानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समधान भने अझै हुन सकेको छैन् ।
मार्सी संरक्षणका लागि रुस, इथुपिया, इटली, पोखरा लमजुङका दर्जर्ना विज्ञ टोली जुम्लामा पुगेर मार्सीको अनुगमान तथा अनुसन्धान गरेको छ । जुम्लाको चर्चित ब्राण्ड मानिएको काली मार्सीधान खाना स्वादिलो हुने भएपनि मार्सीधानको अनुसन्धान, संरक्षणको सन्दर्भमा परिणाममुखी कुनै काम नभएको समेत किसानको गुनासो छ ।
तातोापानीका ४ र ५ का धौलिघाट समुहमा १२ प्लटमा जुम्ली मार्सी, चन्दननाथ तीन, तिरासी, चुरेना, पाखोधान, चुरेना क्रस, खच्चे लेखाली, काली, चुरेना क्रस लाडामाट लगायतका ३५ प्रकारका धानको अनुसन्धान भईरहेको लिर्बडका बरिष्ठ प्राविधिक सहायक सुन्दर रावतले बताए । दुईवर्षमा मार्सी र मिक्स धानबीच अनुसन्धान गर्दा मिक्सको उत्पादन मार्सीको भन्दा बढी देखिएको रावतले उल्लेख गरे ।










नेपालीरैबार । २०७७ आश्विन ४, आईतवार