धोनीको ’स्मार्ट मुभ’ : जसले हार्न लागेको म्याच मुम्बई इन्डियन्सबाट खोस्यो

काठमाडौं । आइपिएल क्रिकेटअन्तर्गत शनिबारको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई सुपरकिंग्सका अम्बाती रायडुले उत्कृष्ट ब्याटिङ गरे ।

रायडु ४८ बलमा ७१ रन बनाएर आउट भएपछि भने चेन्नई केही दबाबमा पर्‍यो। किनकी रायडु आउट हुँदा चेन्नईले तेस्रो विकेटका लागि गरेको ११५ रनको साझेदारी तोडिएको थियो । त्यसपछि चेन्नईलाई खेल जित्न २४ बलमा ४२ रनको आवश्यक थियो ।

यो अवस्थामा कप्तान महेन्द्रसिंह धोनीले पाँचौ नम्बरमा केदार जादवलाई ब्याटिङमा पठाउने धेरैको अनुमान थियो । तर धोनीले अनुमानबिपरित मैदानमा रहेका फाप डु प्लेसिसलाई साथ दिन रविन्द्र जडेजालाई पठाए ।

धोनीले बायाँ हाते ब्याट्सम्यान (जडेजा) र दायाँ हाते ब्याट्सम्यान (डु प्लेसिस) को संयोजन गर्न चाहेका थिए। क्रिजमा दायाँ र बायाँ हाते ब्याटसम्यानको संयोजन गरेर विपक्षी बलरलाई बलिङ गर्न अप्ठेरो पार्ने धोनीको रणनीति थियो ।

धोनीको यो रणनीतिपछि १७औं ओभरमा मुम्बईका जेम्स प्याटिनसनले बलिङ गरेका थिए । यो ओभरमा जडेजा सफल भए । उनले ओभरमा चार बल खेल्दा २ चौकासहित १० रन लिन सफल भए। प्लेसिसले थप ३ रन लिएपछि चेन्नईले १७औं ओभरमा १३ रन जोडेको थियो ।

१८औं ओभरमा पहिलो बलमै चेन्नईलाई अर्को झड्का लाग्यो । जडेजा मुम्बईका क्रुनाल पाण्ड्याको बलमा आउट भए । त्यसपछि ब्याटिङका लागि धोनी स्वयम् जानेमा सबै विश्वस्त थिए। तर फेरि पनि धोनीले अर्को रणनीति लिँदै आइपिएलमा डेब्यू खेलाडी साम कुरानलाई ब्याटिङमा पठाए ।

पहिलो बलमा विकेट गुमाए पनि चेन्नईले बाँकी पाँच बलमा १३ रन जोड्यो। जसमा कुरानले १ चौका र १ छक्कासहित १२ रन जोडे । महत्वपूणर् मानिएको १९औं ओभरमा मुम्बईका मुख्य बलर जसप्रित बुमराहले बलिङ गरेका थिए। पहिलो बलमा बुमराहलाई कुरानले छक्का प्रहार गरेका थिए । तर दोस्रो बलमा कुरान आउट भएपछि धोनी ब्याटिङमा आएका थिए ।

धोनी ब्याटिङमा आएपछि प्लेसिले एक चौकासहित पाँच रन जोडे । चेन्नईले १९औं ओभरमा ११ रन जोड्यो । अन्तिम ओभरको सुरुवाती दुई बलमा प्लेसिसले मुम्बईका बलर ट्रेन्ट बोल्टलाई लगातार चौका प्रहार गरेपछि चेन्नईले चार बल बाँकी छँदा ५ विकेटले खेल जित्यो। प्लेसिस ५८ बलमा अविजित रहदा धोनीले २ खेल्दा रन जोडेनन् ।

के यो धोनीको रणनीतिक चाल हो वा उनले कुरान र जडेजालाई विश्वास गरेर मौका दिएका हुन् ? ’कुनै विन्दूमा मैले हाम्रो ब्याटिङ अर्डरलाई अघि बढाउन जडेजा र साम कुरान जस्ता खेलाडी चाहिने सोचेको थिएँ,’ धोनीले खेलपछि भने,’उनीहरूसँग (मुम्बई) अझै दुई जना स्पिनर बाँकी थिए । त्यसैले हामीले बलरलाई डराउने प्रयास गर्‍यौं, यो केवल मनोवैज्ञानिक पक्ष थियो । हामी राम्रो ब्याटिङ गर्न सक्छौ भन्ने हामीलाई थाहा छ । एक वा दुई छक्का हानेपछि ब्याट्सम्यानलाई सजिलो हुन्छ ।’

ब्याटिङ गर्नुअघि १ विकेट लिएर २८ रन दिएका कुरानले पनि धोनीले निणर्यले आफू ’अचम्मित’ भएको बताए । ’चेन्नईका लागि खेल्न आउदा एकदमै उत्साहित थिए,’ इंग्लिस अलराउन्डरले भने,’टिमका खेलाडीहरूसँग धेरै घुलमिल भएको थिइन। सिधैं बसमा भेट भयो । इंग्ल्यान्ड-अस्ट्रेलियाको सिरिजपछि आइपिएलका लागि दुई अघि मात्र दुबई आइपुगेँ। सिधैं टिममा गए अनि गर्नु पर्ने काम गरे ।’

’साँचो भन्नु पर्दा छैटौं नम्बरमा ब्याटिङमा जादा अचम्मित भएको थिए। तर धोनीले केही सोचेरै मलाई त्यहाँ पठाएको हुनुपर्छ। जसका कारण अन्त्यमा उत्कृष्ट जित निस्क्यो। मलाई लाग्छ त्यो दायाँ र बायाँ हाते ब्याट्सम्यानको संयोजन गर्ने रणनीति हो । हामीले क्रुनाल पाण्ड्याको १८औं ओभरमा रन बनाउन चाहेका थियौं। छक्का हान्ने वा आउट हुने सोच थियो । जोखिम मोलेर छक्का हान्ने, रन बने बनोस् नबने नबनोस् ।’

धोनीले बलिङ कन्डिसनमा चाडैँ भिज्न सकेकाले मुम्बईविरुद्ध जित हात पार्न सहज भएको बताए। समग्रमा जितले सकारात्मक प्रभाव पारेको बताएका धोनीले टिमको सुधार गर्नु पक्ष धेरै भएको पनि बताए । अघिल्लो सिजन लगातार आठ खेल गुमाएर पनि उपाधि जितेको मुम्बईका कप्तान रोहित शर्माले ब्याट्सम्यानले सोचेजस्तो खेल्न नसकेको प्रतिक्रिया दिए ।

सेतोपाटी

तपाईको प्रतिक्रिया