यी‌ हुन् सुर्खेतमा उद्धार गरिएकी जुम्ली महिला, स्थायी ठेगाना अँझै पत्ता लागेन

जुम्ला । सुर्खेतमा एक वर्षअघि बेवारिस अवस्थामा भेटिए उद्धार गरिएकी महिला जुम्लाकी भएको खुलेको छ। सामाजिक विकास मन्त्रालय सुर्खेत र मानव सेवा आश्रमले उद्धार गरेर ती महिलालाई एक वर्षदेखि संरक्षणमा राखिरहेको छ।

स्वास्थ्य अवस्थामा सुधार आएपछि ती महिलाले आफ्नो घर जुम्ला रहेको जानकारी गराएकी हुन्‌। आफ्नो घर जुम्लाको सिञ्‍जा बताएपनि ती महिलाले पूरा ठेगानाबारे अझै जानकारी गराउन सकेकी छैनन्‌।​उनी हाल आफ्नो घर जान खोजिरहेकी सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिएकी छिन्‌।

घर जुम्ला सिञ्‍जामा रहेको मात्रै भन्छिन्‌, तर पूरा ठेगाना भन्‍न सकेकी छैनन्‌, महिलाको डोईला क्षेत्री नाम हो, ज्ञवालीले भनिन्‌, उनीको साथमा दुई छोरी छन्‌, घर जान्छु भने पनि उनको घर जुम्लाको कुन ठाउँमा पर्छ भन्‍ने खुलेको छैन।

ती महिलालाई २०७६ भदौमा सुर्खेतको बराह तालबाट उद्धार गरी मानव सेवा आश्रम सुर्खेतमा राखिएको हो। उनलाई अहिले सामाजिक विकास मन्त्रालय नै संरक्षण दिइरहेको छ। उनको स्वास्थ्यस्थिति अहिले सामान्य रहेको र घर फर्काउन स्थायी ठेगाना पहिचान गर्ने प्रयास भइरहेको छ।

अधिकृत ज्ञवालीका अनुसार ती महिलाको घर पत्ता लगाउन अहिले स्थानीय प्रशासनसँग समन्वय गरिएको छ। जुम्लाको सिञ्‍जा क्षेत्रका सिञ्‍जा, कनकासुन्दरी र हिमा गाउँपालिकासँग महिलाको ठेगाना पत्ता लगाउन समन्वय भइरहेको छ। यदि घर, गाउँ र अभिभावक पत्ता लागेमा सम्पर्क नम्बर ९८५८०६३५०५, ९८४८३००८६८, ९८५५०७६००६ मा सम्पर्क गरी खबर गरिदिन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया