यस्तो देश, जहाँ ‘छोटो कपडा’ लगाउन गरिँदैछ बन्देज

काठमाडौं । कम्बोडियाको सरकारले महिलालाई ‘छोटो कपडा’ पहिरिन प्रतिबन्ध लगाउने गरी एक कानुनको मस्यौदा तयार गर्दैछ । जसअनुसार महिलाले छोटो कपडा लगाएमा जरिवाना तिराइनेछ ।

प्रस्तावित कानुनबमोजिम कम्बोडियाका महिलालाई ‘धेरै कम वा भड्काउ’ कपडा पहिरिन र पुरुषलाई ‘टपलेस’ हुनसमेत निषेध हुनेछ । साँस्कृतिक परम्परा र सामाजिक प्रतिष्ठालाई जोगाउने कोसिसस्वरुप यो कानुन ल्याउन लागेको सरकारको भनाइ छ ।

तर, केही व्यक्ति यस्तो नियम ल्याउने कुराको विरोध गरिरहेका छन् । यसको विरुद्धमा स्थानीयले अनलाइनमा हस्ताक्षर अभियान पनि चलाएका छन् । गएको महिना सुरु गरिएको उक्त अभियानमा अहिलेसम्म २१ हजारभन्दा बढी हस्ताक्षर भइसकेको छ ।

मस्यौदा विधेयकमा कपडासित सम्बन्धित नियमलाई लिएर सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चा भइरहेको छ । तर, सामाजिक अभियन्ता उक्त विधेयकका अरु प्रावधानहरुमा पनि चिन्ता व्यक्त गरिरहेका छन् ।

मानसिक समस्या भएका व्यक्तिलाई सार्वजनिक स्थानमा स्वतन्त्ररुपमा घुम्न प्रतिबन्ध, भिक माग्न निषेध र सार्वजनिक स्थानमा शान्तिपूर्णरुपमा भेला हुनुपूर्व प्रशासनको अनुमति लिनुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

यी प्रावधानले नागरिकको व्यक्तिगत स्वतन्त्रतामा कटौती हुने, गरिबी र असमानता बढ्ने उनीहरु बताउँछन् । यो कानुन पारित भएमा आउँदो वर्षदेखि लागू हुनेछ । त्यहाँका सरकारी अधिकारीले भने यसलाई ‘पहिलो मस्यौदा’मात्र भनेका ‘बीबीसी’ले जनाएको छ ।

केही व्यक्ति उक्त मस्यौदा परिमार्जनका लागि सरकारमाथि दबाब बढाउनुपर्ने बताउँछन् । अन्यथा, मस्यौदा हुबहु पारित हुनसक्ने उनीहरुको आशंका छ ।

तपाईको प्रतिक्रिया