भेरीका प्रधानाध्यापकहरुको निष्कर्ष ‘सावधानी अपनाएर विद्यालय खोलौँ’

जाजरकोट । लामो समय कोरोना भाइरस (कोभिड–१९) ले थलिएका विद्यालयहरु सञ्चालन हुने भएका छन् । जिल्लाका ७ ओटा स्थानीय तहमध्ये भेरी नगरपालिकाले विद्यालय सञ्चालन गर्ने भएको छ । बुधवार नगरपालिकाले प्रधानाध्यापकहरुसँग छलफल गरी विद्यालय सञ्चालनको लागि सल्लाह सुझाव लिएको भेरी नगरपालिका शिक्षा शाखा प्रमुख अमृत पुनले बताए ।

‘हामीले पहिलो चरणमा नगरपालिका भित्रका सबै प्रअहरुको राय सल्लाह लिएका छौं । लामो समयदेखि बन्द भएका विद्यालयहरु सञ्चालको विषयमा गम्भीर छलफल भयो । नगर प्रमुखज्यूले सबै प्रअहरुको राय सुन्नु भएको छ ।’ उनले भने, ‘हामीले अब तत्काल नगर शिक्षा समितिको बैठकबाट निर्णय गरेर विद्यालय सञ्चालन गर्छौं । उपस्थित भएका सबै प्रअहरुले विद्यालय सञ्चालन गर्नुपर्ने माग राख्नुभएको छ । हामीले विद्यालय सञ्चालनको लागि कार्ययोजना निर्माणको लागि जिम्मा दिएका छौं ।’ नगरपालिका भित्रका भेरी नगरपालिका १ कालेगाउँ विद्यालयले विद्यालय सञ्चालन गर्न सक्ने कार्यतालिका निर्माण गरेको पुनको भनाइ छ ।

५३ ओटा सामुदायिक विद्यालय, १ गुरुकुल बिद्या पिट, १५ संस्थागत नीजि विद्यालय, ४ ओटा सामुदायिक सिकाइ केन्द्र रहेको भेरी नगरपालिकामा शिक्षा समितिको निर्देशन अनुसार विद्यालय सञ्चालन गर्ने प्रमुख पुनले बताए ।

यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख चन्द्र प्रकाश घर्तीले भेरी नगरपालिकाले कोरोनासँग लड्नको लागि धेरै स्वास्थ्य मापदण्ड पालना गरेको बताए । देशनै कोरोनामय भएपछि शिक्षा क्षेत्र बन्द भएको बताउँदै उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पालना गरेर अगाडी बढ्नु बाहेक अरु विकल्प नरहेको जनाएकाे खवर जाजरकाेटबाट प्रकाशीत भेरीमालिका दैनिकमा समाचार छ ।

‘लामो समय लकडाउनपछि अहिले सामान्य अवस्थाम फर्किएका छौं । सामुदायिक विद्यालहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग ग¥यौं ।’ उनले भने, ‘धेरै विद्यालयहरुमा आइसोलेशनका रुपमा प्रयोग गरेका छौँ । सबैभन्दा बढि महत्वपूर्ण पक्ष शिक्षा हो । शिक्षा क्षेत्रलाई अब ढिलाइ गर्नुहँुदैन । प्रधानाध्यापकहरुसँग पहिलो बैठक बसेका छौँ । हाम्रो एउटै लक्ष्य एवं स्वार्थ भनेको भेरी नगरपालिका बनाउने हो ।’

भेरी नगरपालिका बनाउनको लागि सबै जिम्मेवार बन्नुपर्ने नगर प्रमुख घर्तीको भनाइ छ । समृद्ध नगर निर्माणको लागि एउटा मेयरको सोच भएर मात्र नहुने भन्दै सबैले सहयोग गर्न घर्तीले आव्हान गरेका थिए । विद्यालय लामो समय बन्द हुदा विद्यार्थीहरु कुलतमा फस्ने अनावश्यक दुर्घटनामा पर्ने जस्ता समस्या भएकोले नगरपालिकाले तत्काल शिक्षा समितिमार्फत एउटा निर्णय गर्ने उनले जानकारी दिए ।

‘जिल्लामा कोरोना भाइरस नभएको भए विद्यालय अध्ययन गर्ने विद्यार्थीहरु सोती गाउँ पुग्ने अवस्था थिए होला ।’ उनले थपे, ‘फुर्सदको समय साथीहरु काफल खान केटीसँग कुरा गर्न गएकै निहुँमा ती युवाहरुले ज्यान गुमाउनु प¥यो ।’

हाल नगरपालिकाभित्र १० ओटा मावि, १३ ओटा प्रावि. ३० ओटा बालविकास केन्द्र अहिले बन्द छन । विद्यालय बन्द भएपछि नगरपालिकामा २ सय ४६ जना शिक्षकहरु काम नगरेर तलब बुझिरहेका छन् । विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ बमोजिमका मापदण्डहरु पुरा गरेर विद्यालय सञ्चालन गर्ने नगरपालिका स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया