रारा जलाधार क्षेत्र संरक्षणमा स्थानीय जुटे

मुगु । नेपालकै ठूलो तथा गहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याड खोला आसपासका बासिन्दा जलाधार क्षेत्रको संरक्षणमा सक्रिय हुँदै गएका छन् । रारा ताल र यो क्षेत्रमा रहेका वनजंगल, वन्यजन्तु, चराचुरंगी र जलचर प्राणीको संरक्षणका लागि स्थानीयहरू संगठित भएका हुन् ।

वनमा पासो हालेर वन्यजन्तु मार्ने, ताल तथा खोलामा बल्छी हालेर माछा मार्ने र जंगल कटान गर्नेजस्ता प्रकृति विरुद्धका क्रियाकलाप गर्दा प्राकृतिक सौदर्यमा ह्रास आउने, वन्यजन्तु, चरा, जलचर र थलचरहरू लोभ हुँदै जाने आवस्थाको सिर्जना हुने अवस्था आएपछि स‌ंरक्षणमा लागेकाे  ताल्च चोरी सिकारी नियन्त्रण समूहका अध्यक्ष दीपेन्द्र भामले जानकारी दिए ।

तस्वीर साैजन्य कविराज कार्की ।

जलाधार क्षेत्रमा पर्ने लामाचौर, ताल्च, झ्यारी, मुर्मा र निगालीभोट बस्तीमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूहहरू गठन गरिएका छन् ।

चोरी सिकारी नियन्त्रणका साथै निकुञ्ज क्षेत्रमा हुने फोहोर संकलन र व्यवस्थापन गर्ने, वन्यजन्तु संरक्षण, वनजंगल संरक्षण, ताल संरक्षण र हाम्रो आनीबानीबाट जलाधार क्षेत्रमा रहेका जलचर र वनजंगलमा रहेका बोटविरुवा वन्यजन्तुलाई पर्ने असरबारे पनि सचेतना दिने काम समूहको रहेको झ्यारी समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूहका अध्यक्ष विष्णु रावलले बताए । अबको केही दिनमा संरक्षणसम्बन्धी होडिङ बोर्ड राख्ने, मुहान संरक्षण गर्नेजस्ता कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया