काठमाडौं । सन् २०१७ सेप्टेम्बर २७, राष्ट्रिय यू-१८ फुटबल टिमले साफ च्याम्पियनसिपको उपाधि हात पारेको दिन । भुटानको राजधानी थिम्पुमा भएको प्रतियोगितामा उपाधि जित्दै नेपालले उमेर समूहले एकै प्रतियोगितामा लगातार दोस्रो उपाधि जितेको कीर्तिमान बनाएको थियो ।
प्रतियोगिता जितेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको युवा टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले भब्य स्वागत पनि गर्यो । राष्ट्र र एन्फाको नाम उचो बनाएको भन्दै खेलाडीलाई पुरस्कार दिने घोषणा गरियो ।
तत्कालिन अध्यक्ष नरेन्द्र श्रेष्ठको कार्यसमिति बैठकले विजेता खेलाडीलाई जनही २ लाखका दरले पुरस्कार दिने निणर्य गरेको थियो । तर निणर्य गरेको कार्यसमितिनै एन्फाको चुनावमा पराजित हुन पुग्यो । एन्फाको नेतृत्वमा कर्माछिरिङ शेर्पा आएका छन् ।
खेलाडीले ठुलो आशा गरेका थिए । नयाँँ कार्यसमिति, नयाँ अध्यक्ष, अब त तोकिएको पुरस्कार रकम सहजै आउँछ । तर सोचेजस्तो भएन । साफको उपाधि जितेको ३ वर्ष पनि पुरा भएको छ । तर युवा टिमले एन्फाद्धारा घोषित पुरस्कार अझै पाउन सकेको छैनन् ।
‘निकैनै मेहनत गरेका थियौं । ती दिनका यादहरु सम्झनामा आउँछन् । मेहनत अनुसार नतिजा पनि आएको थियो र प्रतियोगिता पनि जित्यौं ।‘ तत्कालिन टिमका कप्तान अर्पण कार्कीले पुराना दिन सम्झिए ।
उमेर समूहको साफ यू-१९ को प्रतियोगिताको सुरुवात नेपालबाटै भएको थियो । पहिलो संस्करण नेपालले आयोजना गरेको थियो । विजेता पनि नेपालनै रह्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।
अन्तिम वर्ष भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । स्वयम्भूस्थित एपीएफको हलचोकमा भएको प्रतियोगितामा नेपालले कुनै पनि खेल जित्न सकेन । यस वर्ष कोरोना कहरका बीच प्रतियोगितानै रद्ध भयो । तीन वर्ष अघि उपाधि हात पारेर पनि घोषित पुरस्कार नपाएका तत्कालिन खेलाडी एन्फाले आफुलाई बच्चाको जस्तो व्यवहार गरेको र सिनियर टिमलाई मात्रै हेरेको आरोप लगाउँछन् ।
‘सबैले सिनियर टिमको लागि मात्रै हेर्छन् । सिनियर टिमको तलबको बिषयमा मात्रै कुरा आउँछ । हामीले गरेको योगदान के भयो ?’ टिमका एक खेलाडी प्रश्न गर्छन् ।
‘उपाधि जितेको तीन वर्ष पुरा भयो । मेहनतको प्रतिफल पाउने नपाउने टुंगो छैन । सबैले ठुला खेलाडीलाई मात्रै हेर्छन् । तत्कालिन एकेडेमीको खेलाडीलाई कसैले नि वास्ता गरेको छैन । हाम्रो कुरा कसैले सुन्दैन । सुन्नेले पनि जसरी हुन्छ टार्न खोज्छन् । अव हाम्रो कुरा सुनिदिने कसले ? जहिल्यै दिने भनेर टारेर हुदैन । नदिने भए हामी पनि चुप बस्छौं । बच्चालाई चकलेट दिन्छौ भनेर फकाएको जस्तो भएको छ ।’ घोषित पुरस्कार रकम नपाएपछि आक्रोशित एक खेलाडी भन्छन् ।
यसअघि पनि एन्फाले खेलाडीलाई बारम्बार पुरस्कार दिने प्रतिबद्धता जनाएको थियो । खेलपाटीले यस बिषयमा ‘फलोअप’ गर्दा एन्फाबाट आउने प्रतिक्रिया पनि पुरानै दोहोरिन्छ । ‘हामीसँग अहिले आर्थिक अभाव छ । खेलाडीलाई घोषित पुरस्कार रकम दिन स्रोत खोजिरहेको छौं ।’ एन्फाले यसअघि बताएको थियो ।
दोस्रो पटक ‘फलोअप’ गर्दा समेत एन्फाले लकडाउन सकिएर जनजिवन सामान्य भएपछि खेलाडीको पुरस्कार दिने बताएको थियो । यसपटक समेत पुरस्कारको बिषयमा जानकारी लिदा एन्फाले स्रोतनै नभएको बताएको छ ।
एन्फा प्रवक्ता किरण राईले खेलाडीलाई दिने पुरस्कारको विषयमा एन्फा सकारात्मक रहेको र स्रोतको खोजी भईरहेको बताउँछन् । ‘पुरस्कार दिने बिषयमा एन्फा सकारात्मकनै छ । स्रोत झिकाउने काम भैरहेको छ । लकडाउनले सबै बन्द हुँदा काम हुन पाएका छैनन् ।’ उनले भने ।
प्रवक्ता राईले एन्फाको आय स्रोतनै प्रतियोगिता भएको र सो आयोजना नहुँदा पुरस्कार दिन ढिलाई भएको बताउछन् । ‘एन्फाको आयस्रोत भनेकै प्रतियोगिता हो । जुन हुन पाएकै छैन । हामी अन्य स्रोत खोजिरहेका छौं । यस बिषयमा एन्फा सकारात्मक छ ।’ प्रवक्ता राई भन्छन् ।
खेलाडी भने कोरोनाले गर्दा आफ्नो आर्थिक अवस्था कमजोर भएको र यस समयमा एन्फाले घोषित रकम दिए सहज हुने बताउँछन । ‘यो बेला (कोरोना समयं) एन्फाले हाम्रो पुरस्कार दिएको भए धेरै राम्रो हुन्थ्यो । फुटबल खेल्न पाएको छैन । पैसा कमाउन नसकेको अवस्था छ । घरमै बस्नुपर्ने अवस्था छ । अव त आर्थिक स्थिति पनि कमजोर भैसक्यो । यस्तो बेला एन्फाले दिने भनेको रकम दिएको खण्डमा सहज वातावरण हुन्थ्यो ।’ एक खेलाडीले भने ।
खेलपाटी
नेपालीरैबार । २०७७ आश्विन १२, सोमबार