विकासको कामले गति लिँदै

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको परिस्थितका कारण वितेको केही महिना अन्य क्षेत्रजस्तै विकास निर्माणका काम पनि प्रभावित बने । स्थानीय तहहरुले सञ्चालन गरेका साना योजनादेखि राष्ट्रिय महत्वका निर्माणाधीन आयोजनासम्म यसको असर पुग्यो ।

लामो बन्दाबन्दीको मारमा परेको यी आयोजनाको कामले लकडाउन खुलेसँगै पछिल्लो समय फेरि गति लिन थालेका छन् । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजना कोरोना महामारीका कारण लामो समय प्रभावित भयो । लकडाउनका कारण आयोजनाको काम प्रभावित भएको हो ।

पहिलो चरणमा सुरुङ निर्माण गरेको आयोजनाले एक वर्षअघि दोस्रो चरणमा सिभिल निर्माणको काम सुरु गरेको थियो । बन्दाबन्दीले आयोजनाका कामहरु सहज रुपमा सञ्चालन हुन सकेनन् । लकडाउन खुलेयता आयोजनाको कामले गति लिन थालेको छ । साझा विसाैनी दैनिकमा समाचार प्रकाशित छ ।

आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्ययले सबैतिर सहज बन्दै गएपछि आयोजनाको काम पनि अघि बढेको बताए । आवश्यक सामग्री र कामदार बाहिरबाट ल्याउनुपर्ने हुँदा काम प्रभावित भएको थियो ।

निर्माण कम्पनीले आयोजनाको कामलाई अब स्प्रिटका साथ अघि बढाउन तायरी थालेको छ । पहिलो चरणमा टनेल बोरिङ मेसिन (टीबीएम) को सहायताले सुरुङनिर्माण गरिएको आयोजनामा हाल दोस्रो चरणको काम भइरहेको छ ।

यसअन्तरगत हेडवक्र्स, सर्ज साफ्ट र पावर हाउस निर्माणका कामहरु हुनेछन् । स्वीकृत संशोधित गुरुयोजनाअनुसार भेरी–बबई आयोजनाको अनुमानित लागत ३३ अर्ब १९ करोड रुपैयाँ हो । यसको ४० प्रतिशत बजेट सिभिल निर्माण अन्तरगत खर्च हुने आयोजनाले जनाएको छ । ‘परिस्थिति सहज बन्दै गएपछि निर्माण कम्पनीले बाँध निर्माणको काम सुरु गरेको ।

मेसिन फिट हुँदैछ,’ सूचना अधिकारी उपाध्यायले भने, ‘केही मेसिन भारतबाट ल्याउनुपर्नेछ ।’ उनले आयोजनाको कामले दशैँपछि पूर्ण रुपमा गति लिने बताए । भेरीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेघावट विद्युत उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ ह्जार हेक्टर जमिनमा सिँचाई सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया