विश्वमा कोरोनाबाट मर्नेको संख्या १० लाख, संक्रमणदर भारतमा धेरै

यो महामारी विश्वका १ सय ८८ वटा मुलुकमा फैलिसकेको छ

एजेन्सी ।  कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको शोधकर्ताहरूले जनाएका छन् । उनीहरूले अझै धेरै क्षेत्रमा संक्रमण तीब्र गतिमा फैलिरहेको जनाएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण ज्यान गुमेकामध्ये झण्डै आधा संख्या अमेरिका, ब्राजिल र भारतबाट रहेका छन् । विज्ञहरूले वास्तविक संख्या अझ यो भन्दा धेरै हुनसक्ने अनुमान गरेका छन् ।

कोरोनाको पहिलो संक्रमण झण्डै १० महिना अगाडि चीनको वुहानबाट सुरू भएको थियो । त्यसयता यो महामारी विश्वका १ सय ८८ वटा मुलुकमा फैलिसकेको छ । हालसम्म विश्वका ३ करोड २० लाख बढी मानिसलाई भाइरसको संक्रमण पुष्टि भइसकेको छ । महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउन लगायतका सुरक्षात्मक सावधानीले विश्वका धेरै मुलुकले आर्थिक मन्दीको सामना गर्नुपरेको छ ।

                                                   सांकेतिक तस्वीर

यसैगरी यसका विरूद्ध खोप निर्माणका कामहरू चलिरहेको भएपनि ठोस नतिजा आएको छैन । चार वटा खोपहरूको परीक्षण तेश्रो चरणमा पुगेको भएपनि पूणर्रूपमा यी खोपहरू आमप्रयोगका लागि कहिलेसम्म बनिसक्छन् भन्ने एकिन भइसकेको छैन् ।

विश्व स्वास्थ्य संगठनले खोप तयार हुनेबेलासम्म विश्वमा २ लाख मानिसले संक्रमणका कारण ज्याउन गुमाइसक्ने चेतावनी दिएको छ । कोरोनाका कारण विश्वमा अमेरिका, ब्राजिल र भारत सबैभन्दा धेरै प्रभावित बनेका छन् ।

विश्वमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः ब्राजिल र भारतमा भएको छ । अमेरिकामा हालसम्म २ लाख ५ हजार मानिसहरूले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने ब्राजिल र भारतमा क्रमशः १ लाख ४१ हजार ७ सय र ९५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा अहिलेसम्म धेरै संक्रमित प्रमाणित भएपनि पछिल्लो समय संक्रमण फैलिने क्रम भारतमा सबैभन्दा धेरै छ । लकडाउनलाई विभिन्न चरणमा गरेर निक्कै खुकुलो बनाएका कारण भारतमा संक्रमण अझ बढ्नेसक्ने अनुमान विज्ञहरूको छ ।

अमेरिकामा अगस्ट महिनामा संक्रमणदर घटेको भएपनि त्यो हाल पुनः बढ्न थालेको छ। जुलाई महिनामा त्यहाँ संक्रमणको दोश्रो लहर सुरू भएको थियो । तीब्र गतिमा संक्रमण फैलिरहेको भनिएको भारतमा पछिल्ला दिनहरूमा एकैदिन ९० हजार सम्म संक्रमित फेला परेका थिए ।

भारतमा हालसम्म ६० लाख मानिसमा यसको संक्रमण पुष्टि भइसकेको छ। यो विश्वकै दोश्रो धेरै संक्रमित भएको मुलुक हो। पहिलो नम्बरमा अमेरिका रहेको छ । संक्रमण तीव्र गतिमा फैलिएको भएपनि भारतमा सोका कारण हुने मृत्यु जनसंख्याका आधारमा अन्यत्रभन्दा कम छ ।

यस्तै धेरै संक्रमित भएको ल्याटिन अमेरिकी देश ब्राजिलामा ४७ लाख बढी मानिस संक्रमित बनिसकेका छन्, जुन विश्वमा तेश्रो धेरै हो । यसैगरी त्यसपछि यो क्षेत्रमा धेरै संक्रमित हुने दर अर्जेन्टिनामा छ। त्यहाँ हालसम्म ७ लाख मानिस संक्रमित भइसकेका छन् ।

कोरोनाका कारण हुने मृत्युलाई तय गर्ने कारण मुलुकपिच्छे फरक हुनाले र परीक्षण संख्याका कारण कोरोना संक्रमण र सोका कारण हुने मृत्यु वास्तविक तथ्यांक भनिएभन्दा धेरै हुनसक्ने विज्ञहरूले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया