कृषि अनुदान : किसानलाई नै छैन ज्ञान

जनप्रतिनिधिले आफन्त र टाँठाबाठालाई मात्र अनुदान उपलब्ध गराउँछन्

दैलेख । ठाटीकाँध गाउँपालिका–१ कोसेडीका ५६ बर्षिया कलमबहादुर शाही पछिल्लो एक दशकदेखि कृषि र पशुपालन व्यवसायमा संलग्न छन् । शाहीले फलफूल र उन्नत जातको घाँस खेतीसँगै बाख्रापालन व्यवसाय गर्दै आएका छन् । व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेका शाहीले व्यवसाय प्रर्बद्धन गर्न अहिलेसम्म कुनैपनि सरकारी अनुदान नपाएको बताउँछन् । ‘व्यवसाय सुरु गर्दा आफ्नै लगानीमा सुरु गरेँ, सुरुमा सरकारी अनुदान सहयोग पाइन्छ भन्नेपनि जानकारी पनि भएन, थाहा पाएपछि पटक–पटक कृषि, पशु कार्यालय र स्थानीय तहमा धाएँ, तर कुनै सहयोग पाइन्, सरकारी सहयोग पाउँनलाई पहुँच चाहिँदो रहेछ ।’ व्यवसायमा स्थानीय दुई जनाले रोजगारी समेत दिएका शाही भन्छन् ‘कृषि सम्बन्धि अनुदानका लागि आवेदन खुल्ने गरेको सुनेको छु, तर कहिले खुल्छ हामी गाउँमा बस्नेलाई के थाहा ?

नारायण नगरपालिका–२ जाहरकोटका ५७ बर्षिया रणबहादुर थापा २०५४ सालदेखि कृषि तथा पशुपालन व्यवसायमा सक्रिय छन् । थापाले बाख्रा, कुखुरा र भैसी पालन तथा व्यवसायिक तरकारी र घाँस खेती गर्दै आएका छन् । एक हेक्टर जमिनमा घाँस खेती गरेको थापा भन्छन् ‘व्यवसाय नै नगरेका टाँठाबाँठा व्यक्तिहरुले सरकारी सुविधा लिएका छन्, मेरो व्यवसायमा कसैको पनि नजर पुगेको छैन्, न कहिँबाट सहयोग पाएँ, न त अनुदान ।’ दैलेखबाट प्रकाशित पञ्चकाेशी खवर दैनिकमा समाचार छापिएको छ ।

कलमबहादुर शाही र रणबहादुर थापा त प्रतिनीधिमुलक उदाहरण मात्रै हुन् । कृषि अनुदानबारे ज्ञान नहुँदा यहाँका लक्षित किसानहरु सरकारी अनुदानबाट बञ्चित छन् । किसानहरु अनुदानबारे बेखबर हुँदा सम्पन्न परिवार र राजनीतिक पहुँचवालाले अनुदान पाउने गरेका छन् । कर्णाली प्रदेश सरकार र दैलेखका स्थानीय तहबाट वितरण गरिने अनुदान रकम पाउनेमा गैह्र किसान धेरै रहेको किसानहरुले गुनासो गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया