स्थानीयले जग्गा उपलब्ध गराएपछि आफ्नै भवन बनाउँदै तिला गाउँपालिका

जुम्ला । स्थानीयले जग्गा उपलब्ध गराएपछि जुम्लाको तिला गाउँपालिका आफ्नै भवन बनाउन थालेको छ । भाडाको घरमा सञ्चालन भइरहेको गाउँपालिका कार्यालय अब आफ्नै भवन बनाएर बस्ने सुर कसिएको हो । पालिकाले नौ करोड ३० लाख रुपैयाँको बजेटमा भवन निर्माण गर्ने जनाएको छ । गाउँपालिकाले वडा २ को डुण्डेलीमा बुधबार भवनको शिल्यान्यास गरिएको हो ।

स्थानीयले गाउँपालिका भवन निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि पालिकाले भवन निर्माणको थालनी गरेको छ । संघीय सरकार, कर्णाली प्रदेश र गाउँपालिकाको त्रिपक्षीय लगानीमा पालिका कार्यालय भवन निर्माण गर्न लागिएको अध्यक्ष रतननाथ याेगीले बताए । भवनसँगै सडक छेउको जग्गामा गाउँपालिकालाई आम्दानी हुने गरी टहरा पनि निर्माण गर्ने योजना छ ।

उनका अनुसार बगैँचासहितको २४ कोठे तीन तल्ले तीनवटा भवन बनाउने तयारी गरिएको छ । १६ रोपनी जग्जामा दुई वर्षभित्र पालिका भवन, विषयगत शाखाको भवन र पुस्तकालयसहितका तीनवटा भवन निर्माण गर्न लागिएकउो हो ।

त्यस्तै जुम्लाको सिंजा गाउँपालिकाले ६ करोड रुपैयाँको लागतमा नराकोटमा आफ्नै कार्यालय भवन निर्माण गर्न थालेको छ । तातोपानी गाउँपालिकाले पनि लिताकोटमा कार्यालय भवन निर्माण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

यहाँका हिमा, कनकासुन्दरी, पातारासी, तिला, गुठीचौर र तातोपानी गाउँपालिका भाडाकै घरमा संचालित छन् । तातोपानी र तिला गाउँपालिकाले पालिकाको केन्द्र टुंगो लगाए पनि हिमा, कनकासुन्दरी र पातारासी गाउँपालिकाले पालिकाको केन्द्रसमेत टुंगो लगाउन सकेका छैनन् ।

जुम्लामा विकासको हरेक दृष्टिकोणले स्थानीय तहको संरचनापछि कनकासुन्दरी गाउँपालिका कमजोर र पछि परेको मानिन्छ । पालिकाको नेतृत्व गर्ने जनप्रतिनिधि र कर्मचारीका कारण पालिकाको विकास गर्नुपर्ने जति पनि नभएको हो ।

तपाईको प्रतिक्रिया