युरोपा लिगमा आर्सनलको विजयी सुरुवात

काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा गएराति अष्ट्रियन क्लब रापिड विएनलाई २–१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।

रापिडको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो । खेलको ५१ औं मिनेटमा ट्याक्सीअरचिस फोन्टसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, ७० औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको ७४ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।

जितसँगै समूह ’बी’ को आर्सनलले महत्वपूर्ण ३ अंक जोडेको छ । रापिडले भने हारबाट सिजनको सुरुवात गरेको छ । यसै समूहको अर्को खेलमा मोल्डेले डुनडाल्कलाई २–१ ले नै हराएको छ ।

तपाईको प्रतिक्रिया