भारतका सेनापति नेपाल भ्रमणमा आउने निश्‍चित, सबैकाे चासाे र चिन्ता बढ्याे

काठमाडौं । भारतका सेनापति मनोज मुकुन्द नरवाणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने निश्‍चित भएको छ । भारतका २८ औं सेनाध्यक्ष नरवाणेको तीनदिने भ्रमणका लागि जंगीअड्डाले विशेष तयारीसहित कार्यक्रम पनि सार्वजनिक गरेको छ।

नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तामा हुन लागेको यो औपचारिक सद्‍भावना भ्रमण हो। नक्सा प्रकरणपछि दुई देशबीचको सम्वाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला हुन लागेको सेनापतिको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।

सेनापति भ्रमणको पूर्वसन्ध्यामा भारतीय गुप्तचर संस्था ुरिसर्च एन्ड एनालाइसिस विङु रअ प्रमुख सामन्तकुमार गोयलको आकस्मिक काठमाडौं यात्राले सेनापतिको भ्रमण अर्थपूर्ण हुनसक्‍ने संकेत दिएको छ। रअ प्रमुखको आकस्मिक काठमाडौं यात्रा र उच्चस्तरीय परामर्शपछि उत्पन्‍न भूराजनीतिक तरंगको पृष्ठभूमिमा हुन लागेको यो भ्रमण नियमित निरन्तरता मात्र होइन।

सेनापतिले भारतीय संस्थापनको महत्वपूर्ण सन्देश बोकेर काठमाडौं आउने अनुमान राजनीतिक र कुटनीतिक दुवै वृत्तमा गरिएको छ। रअ प्रमुखको काठमाडौं परामर्श र सेनापतिको भ्रमणमार्फत भारतले चिसिएको सम्बन्ध सुधारका लागि सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।

सेनापतिको काठमाडौं यात्रालाई भूराजनीतिक नजरबाट नियालिएको छ। अमेरिकासँगको रणनीतिक साझेदारीमा जोड दिएको भारतको चीनसँग तनाव बढिरहेको छ। दक्षिण एसियामा आफ्नो सामरिक प्रभाव कायम तथा विस्तार गर्न पनि भारतका लागि नपालको साथ र सद्‌भाव महत्वपूर्ण मात्र होइन, अपरिहार्य हुँदै गएको छ।

अमेरिकी विदेशमन्‍त्री र रक्षामन्‍त्रीको भर्खरैको दिल्ली यात्रा, टु प्लस टु उच्चस्तरीय वार्ता र सैन्य सम्झौताले दक्षिण एसियाको भूराजनीतिमा नयाँ तरंग पैदा गरेको छ। लद्दाख भीडन्त र बढ्दो तनावको पृष्ठभूमिमा भएको सैन्य सम्झौतालाई चीनले स्वभाविक रुपमा लिएको छैन।

गत जुनमा भारत र चीनको सिमा क्षेत्रम लद्दाखमा भएको भिडन्तमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो। नयाँ नक्सा प्रकरणपछि भारतबाट उच्चस्तरका अधिकारी नेपाल भ्रमणमा आउन लागेको पहिलोपटक हो।

तपाईको प्रतिक्रिया