पञ्जावलाई हराउँदै मुम्बई शीर्ष स्थानमा, पोलार्डको उत्कृष्ट ब्याटिङ

काठमाडौं । आइपिएलमा किंग्स ११ पञ्जावलाई पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईले पञ्जावमाथि ४८ रनको जित निकालेको हो। जितसँगै चार खेलबाट दुई जितसहित चार अंक जोडेको मुम्बई रनरेटको आधारमा शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा झरेको दिल्ली क्यापिटल्सको पनि ४ अंक नै छ । अबुधावीमा बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९१ रन जोड्यो ।

पहिलो ओभरमै मुम्बईका क्वान्टन डे कक शून्यमा आउट भएका थिए । त्यसपछि रन सुस्त गतिमा बनाएको मुम्बईका कप्तान रोहित शर्माले पछिल्ला ओभरमा आक्रामक ब्याटिङ गरे। उनले ४५ बलमा ८ चौका र ३ छक्का हिर्काउदा ७० रन जोडे। इशान किसनले २८ रन बटुले ।

मुम्बईको रन बढाउन केइरन पोलार्डले उत्कृष्ट ब्याटिङ गरे। नटआउट ४७ रन जोडेका उनले २० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। हार्दिक पाण्ड्याले ११ बलमा ३ चौका र २ छक्का हिर्काउँदा नटआउट ३० रन जोड्न सफल भए । १९२ रनको लक्ष्य पछ्याएको पञ्जावले ८ विकेटको क्षतिमा १४३ रन मात्र जोड्यो। यसका लागि मध्यक्रमका ब्याट्सम्यान निकोलास पूरनले ४४ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

बलिङमा मुम्बईका जेम्स पाटिनसन, जसप्रित बुमराह र राहुल चाहरले २–२ विकेट लिए आइपिएलमा शुक्रबार चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया