स्वास्थ्य संस्थाले मुहार बदल्ने जाजरकोटको संकल्प

सबै स्थानीय तहमा १५ बेडको अस्पताल बनाउने प्रतिबद्धता

जाजरकोट । वि.सं २०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले सेवा दिइरहेको थियो । नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर कर्णाली प्रदेश सरकारले वैकल्पिक भवन निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा ४९ लाख रकममा नयाँ भवन निर्माण गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय नजिकै अस्थायी भवन निर्माण गरी अहिले सेवा सुचारु गरिएको छ ।

भवन अभावका कारण ५० शैयाको उक्त अस्पताल नाममा मात्र सिमित रहेको थियो । भवन अभावमा अहिले २५ शैयाको मात्र सेवा उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ । सामान्य सिटामोलसमेत नपाइने अवस्थाको जिल्ला अस्पतालमा अब सम्पूर्ण उपचार हुनमा स्थानीयबासी आशावादी छन् । उक्त अस्पतालमा रुकुम र डोल्पाका नागरिकहरु समेत सेवा लिँदै आएका छन् । जाजरकाेटबाट प्रकाशित भेरीमालिका दैनिकले समाचार छापेकाे छ ।

भौतिक पूर्वाधारको अभावमा चिरा परेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल आधुनिक भवन निर्माणको काम सुरु भएको छ । अघिल्लो वर्ष अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो । करिब ३० करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण हुन लागेको छ । सहरी विकास मन्त्रालय अन्तरगत संघीय आयोजना कार्यान्वयन इकाईले जिल्ला अस्पतालको भवनको निर्माण गर्न लागेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

२०७७ असार २६ गते सिनर्जी, ज्ञानज्वाती, क्षितिज जेभि कोटेश्वर ३२ काठमाडौँले भवन बनाउने ठेक्का लिएका छन् । २०७९ पुस २५ गतेभित्र अस्पतालको भवन निर्माण कार्य पुरा गर्ने सम्झौता भएको कार्यालयले जनाएको हो । २०७२ सालमा गृहमन्त्री भएका हालका वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले १५ शैयाबाट ५० शैयाको अस्पताल स्तरोन्नती गर्दै उद्घाटन गरेका थिए । मन्त्री बस्नेतले शुक्रवार ५० शैयाको निर्माणधिन आधुनिक भवनको शिलान्यास गरेका छन ।

मन्त्री बस्नेतले जिल्लामा रहेको उपलब्ध स्रोत साधनको सदुपयोग गरी सेवा प्रवाह गर्न निर्देशन दिएका हुन । शुक्रवार स्वास्थ्य सेवा कार्यालय जाजरकोटको नयाँ भवनको शिलान्यास गर्न जाजरकोट पुगेका बस्नेतले यस्तो बताएका हुन । जाजरकोट जिल्लामा धेरै स्रोत साधनका बावजुत नागरिकहरु सेवा नपाएको भन्दै सरोकारवाला निकायहरुले तत्काल भएको स्रोतसानको उपयोग गरी प्रवाह गर्न उनले अनुरोध गरे ।

‘नेपालको सबैभन्दा बढि विकास निर्माण जाजरकोटमा भएको छ ।’ उनले भने, ‘म स्वास्थ्यमन्त्री हँुदा जाजरकोट अस्पतालको विषयमा नितिगत निर्माणका कामहरु भएका थिए ।’ मन्त्री हँुदा भएको सम्बन्धका कारण जाजरकोटको अस्पतालमा नयाँ आयाम थपिएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘अस्पताल बनाउने हाम्राबीच चुनौति थियो । हामीले सोचेअनुसारको अस्पताल निर्माणको लागि आवश्यक पर्ने विभिन्न चुनौतीहरु हाम्रो माझ थिए । हाम्रो बिचमा विभिन्न स्रोतसाधन अभाव रहेको थियो ।’

जाजरकोट अस्पताललार्ई ५० शैयाको अस्पतालका रुपमा निर्माण गर्नका लागि निकै कठिनाइ भएको उनको तर्क थियो । स्वास्थ्य क्षेत्रमा रहेको चुनौतीका कारण जाजरकोट जिल्लामा पटक–पटक विभिन्न महामारीको सामनासमेत गर्नु परेको मन्त्री बस्नेतले बताए ।

राज्यको नीति निर्माणमा बसेकाहरुको समेत महामारीले खबरदारी गर्ने अवसर दिएको उनको भनाइ थियो । जिल्लामा भएका स्रोत साधनको विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय भएकोले जाजरकोटमा त्यसको अभाव नहुने मन्त्री बस्नेतको दाबी छ ।

जाजरकोट जिल्लामा मात्र एम्बुलेन्स सेवाको विषयमा एम्बुलेन्स व्यवस्थापनको लागि सामाजिक विकासमन्त्रीसँग कुरा गरेको उनले बताए ।

प्रतिवेदन निर्माण भएको एक वर्षमै वनमन्त्री शक्ति बहादुर बस्नेतको पहलमा आधुनिक भवनको निर्माण कार्य सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिइन ।

जिल्ला अस्पतालमा एम्वुलेन्स सेवा र दरवन्दीको विषयमा समेत पहल भईरहेको र यो आर्थिक वर्षभित्र पुरा हुने मन्त्री बस्नेतको भनाइ छ ।

यस्तै जाजरकोटका ७ ओटा स्थानीय तहहरुमा १५ शैयाको अस्पताल निर्माण गर्ने मन्त्री बस्नेतले बताए । शुक्रवार स्वास्थ्य सेवा कार्यक्रमको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तत्काल स्वास्थ्य सेवा प्रवाह गर्ने बताए । जिल्लाका दुर्गम क्षेत्रका महिलाहरु अहिले सम्म हेलिकप्टरको पर्खाइममा ज्यान जोगाउनुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।

जाजरकोट जिल्लाका सबै स्थानीय तहहरुमा १५ शैयाको अस्पतान निर्माण गर्छु । ‘जाजरकोट जिल्लाका नागरिकहरुलाई घरदैलोमा सेवा प्रवाह गर्नको लागि १५ शैयाका अस्पताल निर्माण गर्छौं ।’ उनले भने, ‘जाजरकोट जिल्लामा मैले गरेका प्रतिबद्धताहरु पुरा हँुदैछन् ।’ जिल्लामा वर्षेनी बिभिन्न रोगहरुले नागरिकहरुमा हँुदै आएको क्षती अन्त्य हुने उनको भनाइ छ ।

यस्तै जिल्लाको मुख्य सडक खण्ड भेरी करीडोरको काम अगाडी बढेको भन्दै उनले अब पश्चिम जाजरकोटको छेडा–जुनिचाँदे सडकको डिपिआर काम सुरु भएर यो आर्थिक वर्षमा कालोपत्रेका लागि काम हुने बताए ।

कुदुमा खानेपानीको समस्या हल गर्न यो आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनियोजन भएको भन्दै अन्य रकमका विषयमा समेत छलफल चलिरहेको बताए । टेलिफोन टावरका निर्माण भईसक्ने अवस्थामा कोरोनाका कारण ढिला भएको भन्दै अब वातावरण अनुकूल हुन गएकोले सो समेत समाधान हुने जानकारी दिए ।

जिल्लामै फरेष्ट्री, ईन्जिनियर पढाई सुरु भएको जानकारी दिँदै स्वास्थ्यका विभिन्न समूहको पढाइ सुरु भएको जानकारी दिए । विद्युतीकरणको कामसमेत तीव्र रुपमा भएको उनको भनाइ छ । जनताको चाहना र भावना अनि माग अनुसार कामहरु अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पूर्व शान्ति तथा पुनर्निर्माणमन्त्री सत्य पहाडीले जिल्लाको विकासका लागि कुनै कसुर बाँकी नराखेर काम गरिने बताइन् ।

तपाईको प्रतिक्रिया