मन्त्री केसीले रोपेको कालो धान काटियो, प्रवर्द्धनमा सरकार नै पछि (भिडियोसहित)

निकै महंगो र फाईदाजनक कालो धान वर्षमा दुई पटक उत्पादन हुन्छ

सुर्खेत । कर्णाली प्रदेश भूमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री विमला केसी लगाएत जम्बो सरकारी टोलीले रोपेको कालो धान काट्न सुरु गरिएको छ । गत असार १५ गते धान दिवसको अवसर पारी वीरेन्द्रनगर अर्गानिक फर्मको जग्गामा निकै तामझामका साथ रोपिएको कालो धान यतिबेला काट्ने समय भएको हो ।

रोपेको तीन महिना अवधिमा यो धान पाक्छ । फर्म सञ्चालक तथा उद्यमी युवा सुवास थापाले कर्णालीमै पहिलो पटक व्यवसायीक रुपमा उत्पादन गर्न थालेको कालो धान संकलन तथा भण्डारण गर्न थालिएको छ । शनिबार बिहानदेखि धान काट्न सुरु गरिएको हो ।

तर यसको संरक्षण तथा प्रर्वद्धनमा भने सरकारी जोड पुगेको छैन । यो धान रोप्न तथा काट्न दिवसमा मात्रै सिमित नभएर सरकारी तवरबाट यसको प्रर्वद्धन तथा प्रचारप्रसार हुनुपर्ने सरोकारवालाको भनाइ छ । कालो धानको महत्व र विषेशतालाई ध्यानमा राखी उद्यमी युवा थापाले यस वर्ष १० कट्टा जग्गामा धान रोपेका छन् ।

वीरेन्द्रनगर–१० काक्रेविहार टोल, नयाँ गाउँ जाने बाटो नजिकै खोला साईडको आफ्नै जग्गामा उनले धान खेति गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको कालो चामल (ब्याक राईस) विगत ३ वर्षयता उनले उत्पादन गरी प्रयोग पश्चात सफलता पाएको छ । तर स्वास्थ्यका लागि निकै फाइदाजनक र आम्दानीको हिसाबले पनि राम्रो मानिएको कालो चामलले भने ब्राण्ड लिन सकेको छैन ।

सरकारी तवरबाट यसको प्रर्वद्धनमा खासै प्रयास नभएपनि उद्यमी तथा युवा कृषक सुवास थापाले झोलामा चामल बोकी सुर्खेतका गाउँगाउँ पुगेर यसको प्रचार गर्दै आएका छन् ।

‘यो धान धेरै भन्दा धेरै कृषकले खेती गरुन, र आर्थिक समृद्ध बनुन् भन्ने हो’ नेपाली रैबारसँग उनले भने, ‘सरकारी तवरबाटै यसको प्रचारप्रसार र वीउ वितरण हुन सके प्रभावकारी हुने थियो । तर हाम्रा कुरा किन सुन्दैन सरकार ?’

अहिले बजारमा यो चामलको मुल्य प्रति केजी रु, पाँच सय छ । कृर्षि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका बाली संरक्षण अधिकृत यामबहादुर रानाका अनुसार कर्णाली प्रदेशका अधिकांश ठाउँमा सजिलै यो धान खेती गर्न सकिन्छ ।

‘कालि धानको चामलको बजारमा माग बढ्दै गएको छ । खेती गर्न पनि सजिलो र मुल्य पनि धेरै छ’ उनले भने, ‘त्यसैले छिट्टै आर्थिक समृद्ध बन्न कृषकले यो धान खेती गर्दा उत्तम हुन्छ ।’ उनका अनुसार यो धान माघ महिनादेखि चैत र असारदेखि असोजसम्म सुर्खेतमै वर्षमा दुई पटक उत्पादन लिन सकिन्छ ।

कालो चामलका मुख्य फाईदाहरु
सुगर तथा प्रेशर रोगीहरुको रोग घटाउँछ ।
ग्याष्टिक रोग निर्मुल पार्ने ।
मोटोपन घटाउने ।
हाडजोर्नी भाँचिएमा जोड्ने ।
गर्भाअवस्थामा आइरन चक्कि खान नपर्ने ।
प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने ।

तपाईको प्रतिक्रिया