
सुर्खेत । समाजसेवी तथा असिम मोटर पार्टसका सञ्चालक लक्ष्मण कँडेलको सहयोगमा सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा भगवान शनिदेवको मन्दिर स्थापना गरिएको छ । धार्मिक पर्यटन विकासका लागि कँडेलको व्यक्तिगत सहयोगमा मन्दिर निर्माण गरिएको हो ।
करिब १० लाख बराबर खर्च भएको मन्दिर निर्माण कार्य गत असारदेखि सुरु भएको थियो । ‘सुर्खेतको धार्मिक पर्यटन क्षेत्र फस्टाउन सकेको छैन । त्यसका लागि सोही अनुसार पूर्वाधार विकास गर्न जरुरी छ’ उनले भने, ‘जबसम्म पर्यटकलाई देखाउने पूर्वाधार हुदैन, तबसम्म पर्यटन विकास गफ मात्रै हुन्छ । त्यसैले सरकारको ध्यानाकर्षण गर्न पनि मैले देउती बज्यैमा बन्दिर निर्माण गरेको हु ।’
आगामी दिनमा अन्य ठाउँमा पनि धार्मिक पर्यटन पूर्वाधार निर्माणका लागि सरकारले भुमिका खेलेमा पर्यटक भित्रिने उनको अपेक्षा छ ।
‘मन सफा भए मन्दिर जानु पर्दैन । तर मन्दिरमा पौराणिक कथा बुझ्न जानेको संख्या कमि छैन’ नेपाली रैबारसँग उनले थपे, ‘हिन्दुहरुको आस्थाको धरोहर र परम्परादेखि पुजि आएको मन्दिर क्षेत्र थप आकर्षक बनाउन पनि भगवान शनिदेवको मन्दिर स्थापनामा सहयोग गरेको हु ।’

नेपालीरैबार । २०७७ आश्विन १७, शनिबार