आईपीएलमा आज (आइतबार) दुई खेल

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ ।

सारजाहमा हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद आमने सामने हुने छन् । दुबईमा दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्सविरुद्ध किङ्स इलाभेन पन्जाब मैदान उत्रनेछ ।

सारजाह क्रिकेट मैदानमा साविक विजेता मुम्बई तेस्रो जितको खोजीमा हुनेछ । मुम्बईलाई हराएर हैदराबाद समेत तेस्रो जित निकाल्न चाहन्छ । मुम्बई र हैदराबादबीचको खेल अपरान्ह ३ः४५ बजे सुरु हुनेछ।

मुम्बई ४ खेलमा २ जित र २ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलमा समान ४ अंक पाएको हैदराबाद नेट रन रेटको आधारमा मुम्बई भन्दा एक स्थान तल रहेको छ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई पहिलो खेलमा चेन्नईसँग पराजित भएको थियो । दोस्रो खेलमा कोलकत्तालाई हराएको मुम्बई तेस्रो खेलमा बैंगलोरसँग पराजित भएको थियो । चौंथो खेलमा पन्जाबलाई पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको थियो ।

यता, डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद पहिलो र दोस्रो खेलमा पराजित हुँदा तेस्रो र चौथो खेलमा जित निकाल्न सफल भएको थियो । यस्तै दुबई क्रिकेट मैदानमा हुने दोस्रो खेलमा साविक उपविजेता चेन्नई र पन्जाब भिड्ने छन् । चेन्नई र पन्जाबबीचको खेल साँझ ७ ः४५ बजे सुरु हुनेछ ।

तालिकाको अन्तिमतर्फ रहेको दुबै टिम दोस्रो जितको खोजीमा हुने छन् । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई ४ खेलमा १ जित हात पार्दा २ अंकका साथ तालिकाको पुछारमा रहेको छ । समान खेलमा समान अंक पाएको पन्जाब नेट रन रेटको आधारमा पुछारबाट दोस्रो स्थानमा रहेको छ । पन्जाब केएल राहुलको कप्तानीमा मैदान उत्रनेछ ।

तपाईको प्रतिक्रिया