जाजरकोट । जाजरकोटको भेरी नगरपालिका १ कालेगाउँमा जन्मिएका शक्तिबहादुर बस्नेत १० वर्षे परिवर्तनकारी लडाइँ लड्दै यतिखेर सिंहदरबारभित्र मन्त्री पदमा आसिन छन् । तर, उनकै गृह जिल्लास्थित भेरी नगरपालिका–११ कट्टीगाउँका दलित समुदायले साहुको ऋण तिर्न नसकेर घरबार गुमाएका छन् ।
पर्याप्त जग्गा जमिन र आयको खासै स्रोत नभएका यहाँका दलितहरू हातमुख जोड्न साहुसँग ऋण लिनुपर्ने बाध्यतामा छन् । लिएको ऋणमा साहुले ब्याजमाथि ब्याज जोडेर गरीब दलितहरूलाई उठ्नै नसक्नेगरी ऋणको जञ्जालमा फस्दै आएको पत्रकार काली बहादुर नेपालीले बताए ।
मजदुरी गर्न भारतबाट पैसा कमाएर साहुको ऋण तिर्ने आशामा यहाँका धेरैले जीवन निखारिसकेको नेपालीले बताए । न ऋण तिर्न सक्छन् न त परिवर्तनकारी नेता बस्नेतको गृह जिल्लाका साहु महाजनले गरीबलाई थला पार्ने गरी चक्रिय ब्याजको जालो बुन्न छाडेका छन् । भेरीमालिका दैनिकमा समाचार छ ।
मन्त्री बस्नेतलाई ज्ञापनपत्र
१ सय २५ परिवारले साहुको ऋण तिर्नै नसकेर घरबारबिहिन भएका थिए । उक्त परिवारहरुले आइतवार नेपाल सरकारका वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले बुझाएको ज्ञापनपत्रमा ब्याजमाथि थपेर दलित समुदायलाई ऋणबाट उठ्नै नसक्ने गरी गाउँ छाड्न बाध्य पारिएको उल्लेख छ ।
ऋणको सत्यतथ्य छानबिन गरी तिर्ने व्यवस्थापन मिलाउन आग्रह गरिएको थियो । विस्थापित दलित समुदायलाई गास, बास र कपासको व्यवस्था गरी स्थापित गर्नसमेत दलित समुदायले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए । समुदायमा बेरोजगारीका कारण कालापाहाडको भरमा आत्मनिर्भर हुनुपर्ने बाध्यता भएको भन्दै आयआर्जनमा रोजगारी सुनिश्चित गर्न समेत समुदायले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।
भारत पसे विस्थापित
साहुबाट लिएको ऋण तिर्न नसकेपछि विस्थापित परिवारका अधिकांश सदस्यहरू यतिखेर भारत पुगेका छन् । तर, भारतमा कडा श्रम गरी पठाएको रकम पनि ब्याज तिर्नमै खर्च भइरहेको छ । साहुबाट लिएको साँवा ब्याज तिरेर ऋणबाट यी विपन्नहरू कहिले मुक्त हुन्छन् भन्ने टुंगो नै नभएको अधिकारकर्मी शीला नेपाली बताउँछिन् ।
सावाँ ब्याजसमेत हिसाब गरेर साहुहरूले यहाँबाट विस्थापित भएका हरेक परिवारको ऋण पाँच लाख रुपैयाँ भन्दा धेरै पुगिसकेको देखाएका छन् ।
यो ऋण पनि नगदकै ब्याज जोडिएर पुगेको होइन । हातमुख जोर्न र शरीर ढाक्न स्थानीय साहुबाट खाद्यान्न र लत्ता कपडाको भाउले साँवाको धेरै हिस्सा ओगटेको पीडित जीतबहादुर विक बताउँछन् । गत असारमा भारतबाट आएका केही परिवारलाई साहुले ऋण तिर्न ताकेता गरेपछि गाउँमा टिक्न नसकेर पुनः विस्थापित भएको स्थानीयवासी नरबहादुर कामीले जानकारी दिए ।
यस कारण विस्थापित भए कट्टीबासी
आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना पनि खाना नपुग्ने कट्टी गाउँका स्थानीयवासी दलित समुदायले दैनिक गुजारा चलाउन साहुबाट ऋण लिने गर्छन्। यसरी लिएको ऋण तिर्न नसक्दा स्थानीयवासी विस्थापित हुनुपरेको दलबहादुर विकले बताए ।
उनीसँगै जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक पनि साहुको ऋण चुक्ता गर्न भारतमा काम गरिरहेका छन्। ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरूको भनाइ छ ।
यस समुदायका अधिकांश बालबालिकाले तीन कक्षामा पुगेपछि विद्यालय छाड्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको स्थानीयवासी युवा अमृत विकले जानकारी दिए । उनले भने, ‘दलित समुदायभित्र कक्षा १२ पास गरेका म मात्र हुँ ।’
उनले जानकारी दिएअनुसार आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएर विस्थापित भएका छन् । कट्टी गाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्यले ऋण तिर्न नसकेपछि साहुलाई नै जग्गा पास गरिदिएर भारत विस्थापित भएका हुन् ।
उनीहरूको जग्गा स्थानीय यदुप्रसाद आचार्य र हरिप्रसाद शर्मा लगायतका अन्य पसल गरेका स्थानीयवासीले नाममा लिइसकेका छन् । उनीहरूको पसलबाट लिएको खाद्यान्न, लत्ताकपडा आदिको ऋण तिर्न दलित समुदायका स्थानीयले नसकेपछि जग्गा नै पास गरेर आधा दर्जन दलित समुदायका मानिस भारत पलायन भएका हुन् ।
दलित बस्तीमा विद्युत पुगे पनि दलित समुदायले प्रयोग गर्न पाएका छैनन् । स्थानीय अधिकारकर्मी पार्वती विक भन्छिन्, ‘पढ्ने वातावरण र आर्थिक स्रोत नहुँदा दलित समुदाय अहिले पनि शिक्षाबाट वञ्चित छ, गरिबीको चरम पीडामा छन्, यो समस्याबाट मुक्ति दिलाउनका लागि सबैले ध्यान दिनुप¥यो ।’
नेपालीरैबार । २०७७ आश्विन १९, सोमबार