सुर्खेत । व्यवसायी अजय सुमार्गी अध्यक्ष रहेको कम्पनी मुक्ती श्री समूहले चौकुनेमा एसियाकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग खोल्ने भन्दै सरकारसँग पटक–पटक सम्झौता गर्दै ओगटेको १० वर्षसम्म पनि चौकुने सिमेन्ट खानीको काम अगाडी बढ्न सकेको छैन ।
२०३५ सालमा खानी विभागका प्रतिनिधिले चौकुने डाँडामा निकै कष्टपूर्ण तरिकाले महिनौँ दिन बसेर चुनढुंगाको खानी पत्ता लगाएका थिए । सरकारले चुनढुंगा पहिचान गरेको ४२ वर्ष बित्दा समेत उद्योग स्थापनामा कुनै संकेत देखा नपरेपछि त्यहाँका स्थानीय नागरिक, जनप्रतिनिधि र राजनीतिककर्मीमा आक्रोश चुलिएको छ ।
चैकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा आफ्नो कार्यकालमा चौकुने सिमेन्ट कारखाना सञ्चालनमा ल्याउने प्रतिवद्धता गरेका थिए । अहिले त्यी प्रतिवद्धता जनताका लागि सपना मात्र भएको उनले बताए ।
निर्वाचित भए पनि संघीय सरकारको विषयरहेका कारण आफ्नो बाचा पुरा नगर्न सकेको उनले बताए । ‘स्थानीय तहमा मैंले चौकुने खानीलाई सञ्चालन गर्छु भनेको थिए, तर त्यो बाचा अहिले पुरा गर्न सकेको छैन,’ अध्यक्ष शाहीले भने, ‘चुनाव जितिसकेपछि पनि सुमार्गीले एक वर्षमा सुरु गर्छु भने तर दुई वर्ष बितेपनि काम सुरु भएको छैन ।’
सुमार्गीले कहिल्यै विद्युत त कहिल्यै बाटोर मुआब्जाको कारण देखाउँदै आफुहरुलाई टार्ने गरेको अध्यक्ष शाहीले बताए ।
एक वर्षभित्र काम सुरु गर्छु भनेका सुमार्गी फर्किएनन्
२०७६ असार ६ गते व्यवसायी अजय सुमार्गीले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ‘सुर्खेतको चौकुनेमा स्थापना हुने सिमेन्ट कारखानाले २०७७ सालको भदौ महिनादेखि उत्पादन सुरु गर्ने छ’ चौकुने सिमेन्ट उद्योग सञ्चालन गर्ने वचन दिएर फर्किएका सुमार्गी केहिदिन अगाडी मात्र जनतालाई आश्वासन दिन आफ्ना एक जना प्रतिनिधिलाई चौकुने पठाएका थिए ।
पत्रकार सम्मेलनमा लक्ष्य अनुसार नै उत्पादन गर्ने गरी काम अगाडि बढेको र २ अर्ब बराबरको लगानी गर्ने प्रतिवद्धता दिएका थिए ।
‘म दुई अर्बको लगानी गरेर अर्को वर्षको भदौमा सिमेन्ट उत्पादन गर्छु’, सुमार्गीले भनेका थिए, ‘यहाँ उत्पादन भएको सिमेन्ट दिल्ली र लखनउमा बेच्छु, सिमेन्ट कारखाना स्थापना हुनेमा अब कुनै पनि शंका मान्नु पर्दैन ।’
जग्गादातालाई कारखानामा ५० हजार बराबरको शेयर दिने वचन दिँदै उनले कामदारलाई पनि सोही बराबरको शेयर दिने आश्वासन समेत दिएका थिए ।
यति मात्र होइन् कारखानामा ७०० जनालाई रोजगारी दिने र प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने योजना रहेको बताएका थिए ।
सुमाग्रीको जालझेल
२०६२ मंसिर ७ गते शान्ति प्रक्रियाको थालनी भएसँगै तत्कालिन माओवादी अध्यक्षसमेत रहेका हाल सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रिय पात्र सुमार्गीको उक्त समूहले आर्थिक वर्ष २०६६–६७ मा यहाँ सिमेन्ट उद्योग खोल्ने भन्दै खानी विभागसँग सम्झौता गरेको थियो ।
त्यसयता लगातार सुमाग्रीले खानी विभागलाई भूबहाल कर र ‘लाइसेन्स’ नवीकरण दस्तुर गरी वार्षिक ५ लाख रुपैयाँ बुझाउँदै आएको छ । समूहले चालु आर्थिक वर्षका लागि पनि खानीको ‘लाइसेन्स’ नवीकरणका लागि आवेदन दिइसकेको छ ।
यही असोज मसान्तसम्म ‘लाइसेन्स’ नवीकरणका लागि अन्तिम समय रहेकोमा समूहले थप एक वर्षका लागि खानी विभागमा आवश्यक कागजातसहित आवेदन पेश गरेको परियोजनाका संयोजक लोकबहादुर अधिकारी बताउँछन् ।
पूर्वनिर्धारित समयमा उद्योग खोल्न नसक्नुमा सरकार नै बाधक रहेको समूहले आरोप मात्रै लगाएको छ । सरकारले कैलाली, बाँके, रत्न राजमार्ग हुँदै चौकुनेसम्मको सडकको स्तरोन्नति भएको खण्डमा पनि उद्योग सञ्चालन असम्भव भएको तर्क समूहले गर्दै आएको छ ।
तर स्थानीय बासिन्दाले चाहेको मूल्यमा समूहले जग्गा खरिद गर्न सकेको छैन । नत उनीहरुका अन्य माग पूरा गर्ने ‘ग्यारेन्टी’ नै गर्न सकेको छ । स्थानीय बासिन्दाले चलनचल्तीकै भाउमा जग्गा खरिद गर्नुपर्ने, उद्योगमा आफूहरुले रोजगारी पाउनुपर्ने, आफ्नो पनि सेयर हुनुपर्ने, जीवन बीमा गर्नुपर्नेलगायत माग उठाएका छन् ।
उद्योगका लागि जग्गा व्यवस्थापन गर्न ८ वर्ष अघि गठन गरिएको सरोकार समिति बेकामे भएको छ । त्यसमा समितिको नभई समूहको दोष रहेको समितका अध्यक्ष रामलाल बयकको भनाई छ ।
स्थानीय जनताको माग अनुसार जग्गाको मूल्य दिन कम्पनी तयार नभएको तर चुनढुंगा खानीलाई मागी खाने भाँडो मात्रै बनाएको अध्यक्ष बयकले बताए ।
‘प्लान्टका लागि जग्गा खोज्दै छौं’
मुक्ति सिमेन्ट प्रा.लि.का परियोजना संयोजक लोकबहादुर अधिकारीले भने प्लान्ट राख्ने जग्गाको खोजी भइरहेको जानकारी दिए ।
‘पछिल्लो पटक कोभिड–१९ का कारण पनि अपेक्षाकृत थप काम गर्न सकेनौं’ अधिकारीले भने, ‘चौकुनेको सुनाकाँडामा जग्गाको खोजी भइरहेकाले र कोभिडको सक्रमण विस्तारै काम भए काम सुरु गर्ने तयारीमा छौं ।’
नेपालीरैबार । २०७७ आश्विन २२, बिहीबार