दुई नेताबीच समन्वय अभावले कर्णालीमा कलह

सुर्खेत । कर्णालीमा नेकपाभित्रको विवादको मुख्य जड भनेको दुई नेताबीच समन्वयको अभाव हो। पार्टी एकता भए पनि नेकपामा अहिले पनि साविक एमाले र माओवादीकै ह्याङ कायमै छ। कर्णाली प्रदेश सभामा साविक एमालेको नेतृत्व कँडेल र साविक माओवादीको नेतृत्व मुख्यमन्त्री शाहीले गर्दै आएका छन्। तर यी दुई नेताबीच सरकार सञ्चालनमा समन्वय र सहकार्य नभएकै कारण अहिलेको अवस्था आएको हो ।

नेता कँडेल आफू मुख्यमन्त्री बन्न नसके पनि प्रदेश सरकार सञ्चालनमा आफ्नो सहभागिता चाहन्छन्। कँडेल निकट एक सांसदले भने, ‘सरकारको नेतृत्वकर्ता त मुख्यमन्त्री हुनुहुन्छ, उहाँले नै समन्वय गर्नुपर्ने हो। पदमा नरहे पनि कँडेल हाम्रो नेता हो, उहाँको सहयोगबिना सरकार कसरी प्रभावकारी बन्न सक्छ ?’

उनले प्रदेश सरकार सञ्चालनमा मुख्यमन्त्रीले साविक माओवादीलाई मात्र च्यापेका कारण अहिलेको अवस्था आएको बताए। पहिलेबाटै दुई नेताबीच समन्वय र सहकार्य भएको भए विवाद नै नआउने भन्दै मुख्यमन्त्रीले कँडेललाई असहयोगीका रूपमा मात्र चित्रण गर्दा समस्या भएको उनको दाबी छ।

मुख्यमन्त्री शाहीनिटक सांसद गोपाल शर्मा भने अहिले पनि समन्वय र सहकार्यबाटै समस्या समाधान गर्न सकिने बताउँछन्। उनले भने, ‘नेकपा ठूलो पार्टी हो, सांसदको संख्या पनि धेरै छ। हरेकका आफ्नै आकांक्षा र चाहना छन्, यस्तो अवस्थामा सबैलाई सन्तुष्ट बनाउन सम्भव भएन ।’

यद्यपि उनले नेकपाका सबै सांसद जिम्मेवार भएकाले सरकार सफल बनाउन लाग्नुपर्ने बताए। पार्टीको आन्तरिक समस्या भएकाले आफूहरू छलफल र सहकार्यकै पक्षमा रहेको उनको भनाइ छ। नेकपाको भविष्य भोलि पनि रहेकाले अवसरहरू अहिल्यै नसकिएको उनले बताएकाे खवर ललित बुढाले अन्नपूर्ण दैनिकमा समाचार लेखेका छन्

तपाईको प्रतिक्रिया