प्रदेशको विवाद मिलाउन केन्द्रको हस्तक्षेप

सुर्खेत । कर्णाली प्रदेशको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उत्कर्षमा पुगेको विवाद अन्ततः काठमाडौंले नै मिलाउने भएको छ । कर्णाली प्रदेशसभा संसदीय दलमा जारी विवादले चर्को रुप लिएपछि शीर्ष नेतृत्वले हस्तक्षेप गरेको हो ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओवी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशसभा दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने समूहलाई काठमाडौं बोलाएका हुन् । दुवै पक्षलाई अध्यक्षद्वयले मंगलबार पत्र पठाउँदै असोज २९ गते बिहीबार छलफलका लागि काठमाडौं आउन भनेका छन् ।

विवादलाई यथास्थितिमा राखेर नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आउन भनिएको हो । नेकपाका बहुमत सांसदहरुले आफ्नै संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न भएको विवाद केन्द्रमा पुगेको छ ।

शीर्ष नेतृत्वले विवाद मत्थर पार्न हस्तक्षेप गरेका हुन् । शीर्ष नेतृत्वसँगको छलफलबाटै समस्या समाधान हुने जनाइएको छ ।

मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, नेकपा कर्णालीका प्रदेश सह–इन्चार्ज तथा अविश्वासको प्रस्तावका नेतृत्वकर्ता यामलाल कँडेल, चन्द्रबहादुर शाहीसहित सोमबार पदमुक्त गरिएका प्रमुख सचेतक गुलावजंग शाहलाई काठमाडौं बोलाइएको हो । उनीहरु मंगलबार साँझ नै काठमाडौं लागेका छन् ।

‘प्रदेशमा उत्पन्न विवाद सम्वोधन गर्नका लागि अध्यक्षद्वयले दुवै पक्षलाई केन्द्रीय कार्यालयमा बोलाउनु भएको छ,’ शाहले भने, ‘असोज २९ गतेसम्म केन्द्रीय कार्यालय पुग्नुपर्ने भएकाले अन्य सबै काम स्थगित गरेर छलफलमा सहभागी हुन काठमाडौं हिँड्यौं ।’ साझा विसौनी दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया