![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । कर्णाली प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ । दशैं, तिहार तथा छठ जस्ता पर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालयले ‘चाड पर्व सुरक्षा कार्य योजना’ तयार पारेको हो ।
सडक सुशासन, सार्वजनिक यातायातका साधनहरुको असहज आवागमन तथा दुर्घटना न्युनिकरणका लागि सिसीटिभी, स्पीड गन जस्ता प्रविधीहरुको उच्चतम प्रयोग गरिने प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव श्रेष्ठले बताए ।
खाद्यान्न्न लगायतका अत्यावश्यक वस्तुहरुको मिसावटको बारेमा नियमित अनुगमन गर्ने, कालोबजारी रोकथाम तथा सहज आपूर्तिका लागि सहजीकरण गर्ने, चोरी, लुटपाट, गुण्डागर्दी, ठगी नियन्त्रण, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुहरु ठगिन वा सामान हराएमा खोजतालस गर्ने पनि चाडपर्व लक्षित सुरक्षा कार्य योजनामा समावेश गरिएको छ ।
चाडपर्व अवधिभर प्रदेशभित्रका राजमार्ग तथा ग्रामीण क्षेत्रका १९० स्थानमा मोवाईल गस्ती पठाईने एसपी श्रेष्ठले बताए । यस्तै २८ स्थानमा नियमित चेक प्वाईन्ट स्थापना, ३९ स्थानमा ट्राफिक प्रहरीसहितको आकस्मिक चेक प्वाइन्ट, २४ स्थानमा यात्रु सहायता कक्ष, ७४ ठाउँमा पिकेट स्थापना गरिने उनले जानकारी दिए ।
झै–झगडा, चोरी, लुटपाट, जुवातास, माधक पदार्थ सेवन जस्ता गतिविधि नियन्त्रणका लागि ६७ स्थानमा प्रहरी गस्ती परिचालन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरु सुरक्षाका लागि २० ठाउँमा गस्ती पठाउने, आवश्यकता अनुसार राजमार्गमा स्कर्टिङ गर्ने, १७ स्थानमा बजार अनुगमन टोली पठाउने, क्वारेन्टिन तथा आईसोलेसनमा आवश्यकता अनुसार सुरक्षाकर्मी खटाउने, बढी आर्थिक कारोबार हुने ३१ वटा स्थानमा प्रहरी परिचालन गर्ने योजना पनि चाडपर्व सुरक्षा कार्ययोजनामा राखिएको छ ।
यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लाबाट निगरानी तथा सूचना संकलनका लागि सादा पोशाक तथा पोशाकसहित ३ हजार ७८९ जना प्रहरी खटाईने एसपी श्रेष्ठले जानकारी दिए ।
चाडपर्वका बेला हुन सक्ने चोरी तथस्करी तथा लागु औषधको ओसारपसार नियन्त्रण, विष्फोटक पदार्थहरुको आयात र प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण, तिहारको समयमा हुन सक्ने आगलागी तथा सम्भावित विवादको पूर्ण रुपमा रोकथाममा प्रहरीले भूमिका निर्वाह गर्ने उनले बताए ।
एसपी श्रेष्ठका अनुसार भिभीआईपी तथा भिआईपीहरुको खाली घरहरुको सुरक्षाका लागि पनि प्रहरी परिचालन गरिनेछ । यस्तै चाडपर्व अवधिभर आपराधिक गतिविधि नियन्त्रण, सवारी दुर्घटना नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालयसहित मातहतका जिल्लाहरुमा एक-एक वटा ‘कमाण्ड सेन्टर’ स्थापना गरिने उनले जानकारी दिए ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७७ आश्विन २९, बिहीबार