दैलेखमा रहेका धार्मिक शक्तिपिठहरुमा निषेधाज्ञा

सुर्खेत । कोरोना भाइरसको संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लामा रहेका धार्मिक शक्तिपिठहरुमा निषेधाज्ञा लागु गरेको छ । हिन्दु नेपालीहरुको वडादशैँ शुरु भएसँगै आज घटस्थापनादेखी दशमीसम्म जिल्लाका विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा प्रशासनले निषेधाज्ञा लागु गरेको हो ।

दैलेख सदरमुकाम । तस्वीर साैजन्य पत्रकार हिक्मत नेपाली ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सर्वसाधारणको भिड धेरै हुने ठाउँमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले निषेधाज्ञा लागु गरेको निर्णय गरेको छ ।

केन्द्रले कोरोना संक्रमण फैलिन नदिन र उच्च सर्तकता अपनाउन ११ वटै स्थानीय तहहरुका सबै वडाहरुमा रहेका शक्तिपिठ तथा मन्दिरहरुमा पूजारीले गर्ने नित्य पूजा बाहेक बलिरबध तथा भीडभाड गरि दर्शन आदिका लगि प्रवेश गर्न नमिल्ने गरी निषेधाज्ञा लागु गरिएको जनाएको छ ।

यता, बजार क्षेत्रका फेन्सी व्यवसायी र होटल व्यवसायीहरूमा कोरोनाको संक्रमण बढ्दै गएकाले सर्तकता अपनाउन केन्द्रले तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना पुष्टी भएका व्यवसायी र निजको परिवारका सदस्यहरु प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल, व्यवसाय र सेवाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय भएको जनाएको छ ।

संक्रमणको जोखिम न्यूनिकरण गर्न फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्ड बमोजिम मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने पनि केन्द्रले निर्देशन दिएको छ । केन्द्रले जारी गरेको विज्ञप्तीमा पसल बाहिर साबुनपानीले हात धुन अनिवार्य रुपमा व्यवस्था मिलाउन भनेको छ ।

केन्द्रले प्रभावकारी अनुगमन गरी मापदण्ड पालना नगर्ने व्यवसायलाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया