पेट्रोलमा डिजेल मिसावट गर्ने शंकर आयल स्टोर्स सील

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरस्थित धुलियाविटमा रहेको शंकर आयल स्टोर्स सिल गरिएको छ । पेट्रोलमा मिसावट गरेर तेल विक्री गरिरहेको उजूरीका आधारमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले सील गरेको हो ।

पम्प सञ्चालकले पेट्रोलमा डिजेल मिसावट गरेको इन्धन मोटरसाइकलमा राख्दा इन्जीमा खराबी आएपछि प्रशासनमा स्थानीयले उजूरी गरेका थिए ।

तस्वीर सौजन्य आकाशतारा बयक ।

जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत श्रीसम्शेर रानाको नेतृत्वमा गएको टोलील पेट्रोलको नमूना संकलन गरेर सील गरेको हो । अर्को आदेश नहुन्जेलसम्मका लागि शंकर आयल स्टोर्स सिल गरेको रानाले जानकारी दिए ।

तस्वीर सौजन्य आकाशतारा बयक ।

मिसावटयुक्त पेट्रोलको नमूना संकलन गरि सिलबन्दी गरेर नेपाल आयल निगमको काठमाडौं स्थित ल्यावमा पठाउन निगमकै सुर्खेत कार्यालयलाई जिम्मा लगाईएको उनले बताए ।

ल्यावको रिपोर्ट आएपछि कानून अनुसार पेट्रोलपम्म सञ्चालकलाई कार्वाही हुने उनको भनाइ छ । शंकर आयल स्टोर्सका सञ्चालक डम्मर महताराले डिजल ट्यांकरबाट तेल खन्याउँदा डिजेलको टंकीमा राख्नु पर्नेमा भुलबस पेट्रोलको टंकीमा मिसिन पुगेको बताए ।

मिसावटयुक्त पेट्रोल नबेच्न आफ्ना कर्मचारीलाई निर्देशन दिएपनि नयाँ कर्मचारीले नथाहापाएर केही ग्राहकलाई पेट्रोल बेचेको जनाए ।

नेपाल आयल निगम सुर्खेत प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख शिवराज भण्डारीले कुनैपनि इन्धन विक्रेताले इन्धनमा मिसावट गरेको ल्याव रिपोर्ट प्रमाणित भएमा पहिलो पटकको हकमा एक लाख रुपैयाँ जरिवानासहित एक महिनास पेट्रोलपम्प बन्द गर्ने नियम रहेको बताए ।

तपाईको प्रतिक्रिया