आहा ! देविरामको सुन्तला र आलु खेती

सुर्खेत । उमेरले ५३ वर्ष पार भए । तर जाँगर एक स्वस्थ युवक भन्दा कम छैन । हरेक दिन उनी बिहानै उठ्छन् र बगैचा तर्फ लाग्छन् । अचेल उनलाई बगैचामा गएर काम नगरेको दिन खाना खाएको पनि सन्तुष्ट लाग्दैन । उनी हुन्, चामुण्डाबिन्दासैनी नगरपालिका ३ चाम्रेकोटका देविराम सुवेदी ।

लामो समय व्यापार व्यवसायमा लागेका उनी हाल कृषि कर्ममा लागेका छन् । हरेक दिन बारीमा गोडमेल गर्दा अचेल उनलाई झारपातसँग भलाकुसारी गरे जस्तो लाग्छ । अनी बगैचामा रहेका फलफुलका विरुवासँग परिचय र समस्या आदान प्रदान गरे जस्तो लाग्छ । ‘अचेल विरुवाको भाषा बुझ्न थालेको छु । रोग किराले विरुवा अस्वस्थ भयो । वा मलजलको कमिले उ भोकायो । म टाढैबाट हेरेर चिन्न थालेको छु’ देविरामले भने, ‘मेरो बाँकी जीवन अब कृषि कर्ममै बिताउँछु । मलाई यो पेशाजस्तो अन्य कुनै पनि पेशामा सन्तुष्टी मिल्दैन ।’

देविरामले गाउँमै पकेट क्षेत्र बनाएर सुन्तला, कागती, किवि, जुनार, अमिलो लगाएतका ४ सय बढी विरुवा रोपेका छन् । त्यसैमा आलु खेती पनि । बाहिरबाट उनको बगैचातिर हेर्दा जो सुकैले निकै रमाइलो महसुश गर्दछन् । व्यवसायिक रुपमा फलफुल तथा आलु उत्पादनमा लागेका देविरामसँग हिजोआज धेरै स्थानीयहरु भेटेर छलफल पनि गर्दछन् । अझै थप क्षेत्र बढाएर विरुवा लगाउने उनको योजना छ ।

हाल उनले लगाएका विरुवा ३ वर्ष पुग्न थाले । ‘विरुवाले अब उत्पादन दिने बेला हुदैछ । परिश्रमको फल अवश्य पाउने छु’ नेपाली रैबारसँग उनले थपे, ‘गाउँमै दुख गर्ने हो भने पैंसा कमाउन विदेश जानुपर्दैन । जो सुकैले कृषि पेशाबाट सजिलै परिवार पाल्न सक्छ ।’

उनले यो व्यवसाय सुरु गर्दा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट विरुवामा ५० प्रतिशत अनुदान पाएका हुन् । गत वर्ष उनले लगाएको आलुको विरु नै नउम्रेपछि घाटा बेहोरेका उनले यस वर्ष १० क्वीन्टल आलुको वीउ लगाएका छन् । सुन्तला र आलु पकेट क्षेत्रको रुपमा विस्तार गरी खेती गर्ने योजना बनाएका देविराम सुवेदीले मल, वीउ र औजार उपकरणहरु सहुतियतमा उपलब्ध गराईदिन सरकारी निकायसँग अपेक्षा राखेका छन् । २० वर्ष जति व्यापार गरेका देविराम अब कृषिबाटै घरपरिवार पाल्ने र आफु सन्तुष्ट हुने विकल्पमा छन् ।

तपाईको प्रतिक्रिया