वीरेन्द्रनगरमा सीसी क्यामरा जडान गरेपछि अनुसन्धानमा सहज

सुर्खेत । मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट नजिकको सडकमा दुर्घटना भयो । वीरेन्द्रनगर–१ बाँगेसिमलका तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै मोटरसाइकल चालक फरार भए । मोटरसाइकलमा दुई जना सवार थिए ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बालकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । तीव्र गतिमा आएको मोटरसाइकलले प्रहरी कार्यालयको गेट अगाडी ठक्कर दिएर भागे पनि मोटरसाइकलको नम्बर तत्कालै पत्ता लागेन ।

बालकलाई ठक्कर दिएर भागेकाहरूको हुलिया भने सीसीटिभी क्यामेरामा कैद थियो । दुर्घटना भएको ४८ घण्टाभित्र प्रहरी उनीहरूलाई पक्राउ गर्न सफल भयो । प्रहरीले सीसीटिभी फुटेजको आधारमा चालकको हुलिया पत्ता लगाइ नियन्त्रणमा लिएको हो ।

कार्यालयकै गेट नजिकबाट मोटरसाइकल चालक भागेपछि नियन्त्रणमा लिन प्रहरीलाई चुनौति भएको थियो । तत्काल नियन्त्रणमा लिन नसकेको भन्दै प्रहरीको आलोचना समेत भयो । मृतक बालकका आफन्त आन्दोलित भए ।

प्रहरीले अनुन्धानका क्रममा यामाहा कम्पनीका एफजेट मोडलका १५ वटा मोटरसाइकल नियन्त्रणमा लियो । तीमध्ये १४ जना प्रहरीको सम्पर्कमा आएपनि लु ६२ प ७००३ नम्बरको मोटरसाइकलका चालक सम्पर्कमा आएनन् ।

सोही मोटरसाइकलले ठक्कर दिएको हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा त्यही मोटरसाइकलले ठक्कर दिएर भागेको पुष्टि भयो । ‘ठक्कर दिने मोटरसाइकललाई बुधवार नै प्रहरी कार्यालयमा चालकका बुवाले बुझाए’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसन्धान अधिकृत गोपाल रायमाझीले भने ।

आँखा अस्पताल चोक र वीरेन्द्रनगर–१२ नेवारे पृतना नजिक नीजि घरमा जोडिएको सिसी क्यामेराको फुटेजको सहायताले चालकको हुलिया पत्ता लागेको उनले बताए ।

पछिल्लो समय वीरेन्द्रनगर बजार तथा आसपासका मुख्य चोकहरूमा जडान गरिएका सीसी क्यामेराका आधारमा प्रहरीलाई अपराध अनुसन्धानमा सघाउ पुगेको छ ।

सवारी दुर्घटना मात्रै होइन चोरी तथा लुटपाट र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सीसी क्यामेरा प्रभावकारी बनेको हो । ‘सीसी क्यामेराले अनुसन्धानमा सहज भएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्र भट्ट भन्छन्, ‘हुलिया थाहा भएसम्म अन्य प्रमाण फेला नपरेपनि अपराधी पक्राउ गर्न सफल भएका छौँ ।’

बढ्दो जनघनत्वसँगै वीरेन्द्रनगरमा चोरीका घटनामा पनि बढेका छन् । वीरेन्द्रनगर–२ बाङ्गेसिमलका जगतप्रसाद कँडेलको घर तोडफोड गर्ने एक व्यक्ति सीसीटिभी क्यामेराले रेकर्ड गरेको छ ।

कार्तिक ३० गते साँझ कँडेलको घरबाट चोरी गर्ने ति व्यक्तिले एभरेष्ट बैंकको एटिएमबाट नगद ४० हजारसमेत निकालेको रेकर्ड सीसीटिभी क्यामेराले रेकर्ड गरेको हो । घरधनी कँडेलले बिहीवार प्रहरीमा सीसीटिभी क्यामेराको भिडियोसहित उजूरी दर्ता गराएका हुन् ।

घरमा रहेको दराज फोडेर नगद, गहना र एटीएम कार्ड चोरी भएको भन्दै कँडेलले मुद्धा दर्ता गराएका छन् । उक्त घटनाको अनुसन्धान अघि बढाइसकिएको प्रहरीले जनाएको छ । साझा विसाैनी दैनिकमा खवर  छ ।

आर्थिक वर्ष २०७६/०७७ मा वीरेन्द्रनगर नगरपालिकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा वीरेन्द्रनगरका १३ वटा वडामा ८९ सीसी क्यामेरा जडान गरेको थियो । प्रदेश सरकारको शान्ति सुरक्षार्थ डिजिटल प्रविधि जडान कार्यक्रम अन्तर्गत नगरपालिकालाई मन्त्रालयले करिब ८० लाख रूपैयाँ दिएको हो ।

जडान गरिएका सीसी क्यामेराको कन्ट्रोल कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । क्यामेरामा कैद भएका घटनाको निगरानी प्रहरीले राख्दछ । नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडलले प्रदेश सरकारबाट आएको रकममा नगरले करिब २० लाख रूपैयाँ थप गरी क्यामेरा जडान गरेको जानकारी दिए ।

आपराधिक घटना नियन्त्रणका साथै भविष्यमा नगरपालिकाबाट प्रदान गरिने सेवा–सुविधाहरू इन्टरनेटको सहायतामा लिन सकिने गरी अप्टिकल फाइबर समेत जडान गरिएको जनाइएको छ । प्रहरीका अनुसार हाल ७९ वटा सीसी क्यामेरा सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया