![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । कर्णाली प्रदेशको दुध पहिलो पटक काठमाडौं निर्यात गर्न थालिएको छ । मुख्यगरी तीन जिल्लाबाट सुर्खेतमा संकलन भइरहेको दुध कर्णाली प्रदेश राजधानीमा बिक्री नहुँदा काठमाडौं निर्यात गरिएको हो ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पालिकाहरुले कृषक लक्षित कार्यक्रमले व्यवसायीक पशुपालनमा वृद्धि भएपछि दुध उत्पादनमा समेत वृद्धि भएको छ ।
दुधको उत्पादन बढ्दै गएपछि उद्योगले कर्णालीको दुध काठमाडौंका उपभोक्तालाई विक्री गर्न शुरु गरेको छ । पालिकाहरुले कृषकले उत्पादन गरेको दुध खेर जान नदिन र कृषकलाई राम्रो मुल्यमा बजारको सुनिश्चिता गरेपछि कर्णालीमा दुध संकलन दर बढेको सुर्खेत डेरी उद्योगका सञ्चालक माधव धिताल बताउँछन् ।
झण्डै १५ करोड लागतमा सुर्खेतमा स्थापना भएको सुर्खेत डेरी उद्योगले सुर्खेत, दैलेख र सल्यानबाट दैनिक दुध संकलन गर्दै आएको छ ।
उद्योगले सुर्खेतमा दैनिक तीन र दैलेखबाट एक हजार लिटर दुध संकलन गरिरहेको छ । सल्यानबाट भने हप्तामा दुई पटक दुई हजार दुध संकलन गरिरहेको छ ।
‘सुर्खेतमा संकलन भएको दुध खपत कम भएपछि काठमाडौं पनि निर्यात गर्न थालेका छौं,’ सुर्खेत डेरी उद्योगका सञ्चालक माधव धितालले भने, ‘हरेक साता १० हजार लिटर दुध काठमाडौं पठाइरहेका छौं ।’
सुर्खेतको चौकुने, पञ्चपुरी, बड्डीचौर, भेडावारी, मेहलकुना, मलारानी, चिंगाडा, दैलेखको नारायण नगरपालिका, चामुण्डा र सल्यानको बागचौरबाट दुध उद्योगमा संकलन भइरहेको छ ।
‘प्रदेश राजधानीमा दैनिक दुई हजारदेखि दुईहजार पाँच सयसम्म दुध विक्री हुन्छ,’ सञ्चालक धितालले भने, ‘बाँकी बचेको दुध हामीले सिँधै काठमाडौं पठाउने गरेका हौं ।’
काठमाडौं निर्यात हुने दुध उच्च प्रविधिको चिस्यान जडित ट्यांकरमार्फत ढुवानी गर्ने गरिएको छ । उद्योगले केही दिनमा रानीवासको दुध उठाउने तयारी गरेको छ ।
दुध ढिला संकलन हुने स्थानमा चिस्यान केन्द्र स्थापना गरेर दुध संकलन गरेर वीरेन्द्रनगर ल्याउने गरिएको धितालको भनाई छ ।
उद्योगले रारा ब्राण्ड नामका दुध, दही, पनिर, घ्यू र मोही दैनिक उत्पादन गरेर वीरेन्द्रनगरमा विक्री गरिरहेको छ ।
‘उत्पादित दुधजन्य पदार्थको प्याकेटमा मुल्य निर्धारण गरिएको छ,’ धितालले भने, ‘प्याकेट वा बट्टामा उल्लेख मूल्यभन्दा बढी मूल्य नतिर्न आमउपभोक्तालाई आग्रह गर्दछु ।’
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७७ मंसिर ६, शनिबार