सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघको यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा ५४ औं चुनावी अधिवेशन हुदैछ । उक्त चुनावी अधिवेशनमा किशोर प्रधानको प्यानलबाट सुर्खेत उद्योग वाणिज्य संघको आधिकारीक उम्मेदवारका रुपमा जगतबहादुर खड्काले खुला सदस्यमा उम्मेदवारी दिएका छन् ।
जिल्ला नगर तर्फका केन्द्रिय सदस्य (खुला तर्फ) कार्य समिति सदस्य पदमा उनले उम्मेदवारी दिएका हुन् । उनले सुर्खेत उद्योग वाणिज्य संघको पूर्व उपाध्यक्षको रुपमा सफल कार्यकाल समेत बिताईसकेका छन् । कर्णाली प्रदेशको व्यवसायिक विकासका लागि आफुले उम्मेदवारी दिएको उनले बताए ।
आफुले चुनाव जितेमा व्यवसायिक विकासका लागि कर्णालीमा ठुला लगानीकर्ता भि¥र्याउने उनको भनाइ छ । ‘चुनाव जितेमा महासंघको संस्थागत सुदृढिकरणमा भुमिका खेल्नेछु’ उनले भने, ‘कर्णालीको व्यवसायिक क्षेत्रमा देखिएका विद्यामान समस्यालाई उजागर गर्नुका साथै समस्या समाधानका लागि महासंघसँग पहल गर्नेछु ।’
हाल कर्णालीको व्यवसायिक क्षेत्रले फड्को मार्न नसकेको अवगत गराउँदै ठुला लगानीकर्ता कर्णालीमा भि¥याउन आफुले चुनाव जित्नैपर्ने उनको भनाइ छ । कर्णालीमा लगानीकर्ता ल्याउन सभा, सम्मेलनका साथै औपचारिक, अनौपचारिक पहल थाल्ने उनले बताए ।
‘चुनाव जितिन्छ भन्ने मलाई पूर्ण विश्वास छ । यसमा सबैको सहयोगको अपेक्षा छ’ नेपाली रैबारसँग उनले थपे, ‘किनकी एउटा स्वतन्त्र र सक्षम टिमबाट मैले उम्मेदवारी दिएको छु । कोरोना माहामारीका कारण व्यवयायिक क्षेत्र थलापरेको बेला नयाँ भिजिन र मिसन सहितको सक्षम नेतृत्व आउनेछ ।’
यदी सक्षम नेतृत्व नआए व्यवसायिक समस्या समाधान नहुने उनको तर्क छ । आफुले उम्मेदवारी दिएको प्यानल निर्वाचित भएमा संस्थागत सुशासन कायम हुने उनले दावी गरे । ‘संस्थागत रुपमा मलाई उम्मेदवार बनाउनु मेरा लागि सौभाग्यको कुरा हो’ उनले भने, ‘यसका लागि सुर्खेत उद्योग वाणिज्य संघका सबै पदाधिकारी तथा व्यवसायिलाई धन्यबाद छ ।’
नेपालीरैबार । २०७७ मंसिर ७, आईतवार