म्याराडोनाको सम्झनामा पेलेले भने‚ ‘हामी अब स्वर्गमा फुटबल खेलौंला’

अर्जेन्टिना । विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनमा उनका मित्र तथा प्रसिद्ध फुटबल हस्ती पेलेले गहिरो शोक व्यक्त गरेका छन्। ‘मैले मेरो महान मित्र गुमाएँ‚ विश्वले एउटा महान प्रतिभा गुमायो’‚ गतमहिना असी वर्षमा पाइला टेकेका पेलेले ट्वीटरमा लेखेका छन्। बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा म्याराडोनाको निधन भएको थियो।

‘भन्नुपर्ने कुरा धेरै छन्‚ तर अहिलेलाई उनको परिवारलाई भगवानले शक्ति दिउन् भन्ने कामना गर्छु’‚ पेलेले लेखेका छन्‚ ‘म आशा गर्छु‚ एकदिन म्याराडोना र म स्वर्गमा सँगै फुटबल खेल्नेछौं।’

यी दुई हस्तीलाई सन् २००० मा फिफाले शताब्दीकै महान् खेलाडी घोषित गरेको थियो। म्याराडोनाको निधनमा संसारभरका प्रशंसकहरू शोकाकुल भएका छन्। घरेलु प्रशंसकहरूले म्याराडोनाको सम्मानमा १० नम्बरको जर्सीको प्रयोगमा बन्देज लगाउनुपर्ने माग उठाएका छन्। अर्जेन्टिनामा तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया