क्रिकेटको मुख्य प्रशिक्षक पाउन २ हप्ता लाग्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई हुने भएको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० को कारण मुख्य प्रशिक्षक नियुक्तिमा थप दुई हप्ता ढिलाई हुने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो तर्फको सम्पूर्ण प्रक्रिया पुरा गरेको तर आईसीसीको कारण मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई हुने जनाएको छ । यस अघि क्यानले मंसिरको दोस्रो हप्ता मुख्य प्रशिक्षक सार्वजनिक गर्ने बताएको थियो ।

क्यानका सचिव अशोक नाथ प्याकुरेलले क्यानले सम्पूर्ण रिपोर्ट आईसीसीमा पठाएको र सबै काम आईसीसीसँगको समन्वयमा गर्नु पर्ने भएको कारण मुख्य प्रशिक्षक घोषणा थप दुई हप्ता ढिलाई हुने खेलपाटीलाई जानकारी गराए ।

क्यानले गर्नु पर्ने काम सकाएका छौं अब आईसीसीसँगको समन्वयमा गर्नु पर्ने काम बाँकी छ । त्यसको समेत अन्तिम चरणमा छौं, सचिव प्याकुरेलले भने, एक हप्ता एक हप्ता भन्दा भन्दै धेरै समय बित्यो । सायद अब एक दुई हप्तामा टुंगिने सम्भावना छ ।

प्याकुरेलले आईसीसी आफ्नो निर्वाचनमा व्यस्त रहेको र अहिले क्यानले गरेको कामको मुल्यांकन गरिरहेको कारण मुख्य प्रशिक्षक घोषणा ढिला भएको बताए । उनले तत्काल नाम बताउँन मिल्ने खालका प्रशिक्षक छनोट गरिनसकेको समेत बताए ।

क्यान र प्रशिक्षकको सहमति भए प्रशिक्षक आउने हुन् । सबै कुरा सहमति भए आउने हुन् तर कुनै प्रशिक्षकसँग तलबको कुरा नमिल्ने हुन्छ, कसैसँग सेवासुविधा, कोहिसँग समयको कुरा नमिल्न सक्छ । त्यसैले यो सबै कुरा अन्तिम भएपछि नाम बाहिर ल्याउने छौं । अहिले तत्काल बताउँन मिल्ने नाम क्यानसँग छैन, उनले भने ।

क्यानले गत नोभेम्बर १४ मा मुख्य प्रशिक्षकका लागि आवेदन परेको मध्येबाट १२ जनाको अन्तर्वार्ता लिएको थियो । यस्तै अन्तर्वार्तापछि क्यानले मंसिर दोस्रो साता मुख्य प्रशिक्षक घोषणा गर्ने बताएको थियो ।

नेपाली टिम लामो समयबाट मुख्य प्रशिक्षक विहीन रहदै आएको छ । गत फेब्रुअरीमा नेपालमा भएको विश्वकप लिग-२ अन्तर्गतको घरेलु सिरिजपछि तत्कालीन मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए । त्यसयता नेपाली टिमको मुख्य प्रशिक्षक पद खाली रहँदै आएको छ ।

हाल नेपाली टिम राष्ट्रिय खेलकुद परिषद (राखेप) का प्रशिक्षक जगत टमटाको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेका छन् । यस्तै क्यानले मनोज कटुवाललाई साहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया