कर्णालीको नगरकोट ‘गोठीकाँडा’ प्रमुख पर्यटकीय गन्तव्य

सुर्खेत । आन्तरिक पर्यटकको प्रमुख रोजाइको रुपमा पछिल्लो समय सुर्खेतको गोठीकाँडा बन्न थालेको छ । सार्वजनिक विदा लगायत फुर्सदको समयमा गोठीकाँडामा समय विताउन जानेको संख्या बढ्दै गएको हो ।


गोठीकाँडाबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्न सजिलो हुने भएकोले पनि पर्यटकको रोजाईमा गोठीकाँडा पर्ने गरेको छ । सुर्खेत सदरमुकाम रुपमा रहेको गोठीकाँडापछि वीरेन्द्रनगरमा सारिएपछि लामो समयसम्म यो क्षेत्र सुनसान बनेको थियो ।

तर, अहिले भने गोठीकाँडा छुट्टी मनाउनेकालागि आकर्षण केन्द्र बनेको छ । अग्लो स्थानमा रहेको गोठीकाँडाबाट सुर्खेत उपत्यका, पहाड र हिमालको दृश्यावलोकनगर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन् ।

शान्त वातावरण, चिसो हावा, स्थानीयस्तरमा उत्पादित दुध, दही, लोकल कुखुरा, खान यहाँ शनिवार र विदाका समयमा पुग्नेको घुँइचो नै लाग्ने गरेको गोठीकाँडामा होटल व्यवसाय गर्दै आइरहेका होटल सञ्चालक बताउँछन् ।

पश्चिमको नगरकोटका रुपमा परिचित गोठीकाँडामा पुग्ने पर्यटकको संख्या बढ्दै गएपछि यो क्षेत्रलाई व्यवस्थित बनाउन स्थानीय सरकारले काम थाल्ने जनाएका छन् ।

‘यहाँ आउने पर्यटकको रोजाइमा स्थानीय परिकार पर्छ नै, साथै भ्याली दृश्यावलोकन पनि हो,’ वीरेन्द्रनगर १४ का वडाध्यक्ष टोपबहादुर दर्लामी भन्छन्, ‘गोठीकाँडालाई झै व्यवस्थित बनाउने गरी लागिरहेका छौं ।’

करिब दुई सय वर्षअघि गोठीकाँडा नजिकैको बयलकाडाँमा बहादुर शाहको पालामा गढी निर्माण गरिएको थियो । सो गढीको अहिले भग्नाशेष मात्रै छन् । गढीको संरक्षण गर्न काम अघि बढाउन लागेको वडाध्यक्ष दर्लामलीले बताए ।

तपाईको प्रतिक्रिया