१६ वर्षमै व्यवसायमा होमिएका ‘मियाँ’

महमद अली मियाँ सञ्चालक, सुर्खेत भ्याली सिमेन्ट ब्रिक एण्ड ब्लक उद्योग, वीरेन्द्रनगर–४ भैरवस्थान, सुर्खेत

सफल व्यवसायी बन्न आफूमा लगाव र आउने भैपरी झेल्न सक्नुपर्छ । सामान्य विचलनमै कतिपयले व्यवसाय छोड्छन् । तर पाल्पामा जन्मिएका महमद अली मियाँले व्यवसायलाई सार्थक बनाउन तीन दशक बिताएका छन् । पाल्पाबाट सुरुवात गरिएको ईलेक्ट्रोनिक्स व्यवसाय कोहलपुर, चिसापानीहुँदै सुर्खेतमा आएर सार्थक दिए ।
वीरेन्द्रनगरमा स्याङ्जा ईलेक्ट्रोनिक्सबाट आफ्नो पहिचान स्थापित गरेका मियाँले कयौँ अवरोध व्यापार यात्रामा भोगे । मेकानिकल क्षेत्रमै भविष्य खोजेका मियाँले पछिल्लो पटक जोखिम मोलेर फरक व्यवसायको आरम्भ गरेका छन् । घडी र रेडियोले मात्रै व्यवसाय सार्थक नहुने भएपछि कर्णालीमै पहिलो पटक सुर्खेत भ्याली सिमेन्ट ब्रिक एण्ड ब्लक उद्योग सुरुवात गरेका छन् । व्यवसायमा मियाँले गरेको संघर्षका सम्पादित अंशः

पाल्पाको रामपुर नगरपालिका–४, स्लामपुरमा जन्मिएका महमद अली मियाँको रुची मेकानिक बन्ने थियो । अध्ययन गरेर मेकानिकल बन्ने उनको चाहनामा भने जिम्मेवारीले ब्रेक लगाइदियो । एसएलसीसम्मको अध्ययन गरेका मियाले १६ वर्षकै उमेरदेखि व्यवसायमा होमिनु प¥यो । पाल्पामा बुबाआमाले कस्मेटिक व्यवसाय गरिरहेकाले उनले ईलेक्ट्रोनिक्स व्यवसाय शुरु गर्ने निधोमा पुगे ।
पढाइबाटभन्दा उनले अनुभवन लिँदै झण्डै दुई दशक ईलेक्ट्रोनिक्स व्यवसायमा बिताए । पाल्पाबाटै ईलेक्ट्रोनिक्स व्यवसाय आरम्भ गरिसकेका मियाँले पढाइलाई गन्तव्य दिन नसकेपछि २०४६ सालमा कोहलपुरमा आएर स्याङ्जा ईलेक्ट्रोनिक्स नाम दिएर व्यवसायलाई थप अघि बढाए । जिन्दगीको त्यो यात्रा चिसापानी हुँदै सुर्खेतसम्म पुग्यो । झण्डै एक वर्षसम्म साविकको मध्य र सुदूरपश्चिम विकास क्षेत्रको प्रवेशद्वार कोहलपुरमा ईलेक्ट्रोनिक व्यवसायले उनलाई थप अघि बढ्ने प्रेरणा मिल्यो । व्यवसाय गर्दा थेक्नु पर्ने झण्झन्टले उनलाई निखार्दै गयो । त्यसपछि २०४७ सालमा उनी कैलालीको चिसापानीमा स्याङ्जा ईलेक्ट्रोनिक्स व्यवसायलाई जीवन्त दिए ।
चार वर्ष चिसापानीमा व्यवसाय गरेका मियाँले साविकको भेरी र कर्णालीको व्यापारिक हव सुर्खेत भएको पत्तो पाए । चिसापानीमा हुने हरेक व्यापारमा साविक सुदूरपश्चिमको कैलालीको उत्तरी क्षेत्र, अछाम, बाजुरा, मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सुर्खेत, दैलेख, साविक कर्णाली अञ्चलको कालिकोट, जुम्ला, मुगु र हुम्लाका नागरिकहरु पुग्थे । सडक सञ्जालको विकासँगै सुर्खेत व्यापारिक प्रमुख केन्द्र रहेको पत्तो पाए । त्यसपछि उनी व्यवसायलाई अघि बढाउन वीरेन्द्रगरमा आएर स्याङ्जा ईलेक्ट्रोनिक्स व्यवसायलाई नै निरन्तरता दिए । सुर्खेतका अधिकाँश व्यवसायी र नागरिकहरु मियाँलाई ‘स्याङ्जाली ईलेक्ट्रोनिक्स साहु’ भनेर चिन्छन् । ‘सोचेजस्तो कहिल्यै पुग्दैन्, तर लक्ष्य भेट्न संघर्ष गर्न छाड्नु हुँदैन,’ मियाँ भन्छन्, ‘आफूले गरिरहेकै काममा लगामी बनेर लागे सफलता हरण हुँदैन् ।’ जिन्दगीको गति कहाँ पुग्ने हो अघि नै पत्तो हुँदैन् दौडने क्रममा समयानुकुल बनाउदै अघि बढाए सफलता पाउन जटिल नहुने मियाँ बताउँछन् ।

कर्णालीकै पहिलो कङक्रिट उद्योग
२०६५ सालसम्म मियाँले सुर्खेतमा ईलेक्ट्रोनिक्स व्यवसाय सञ्चालन गरे । तर ईलेक्ट्रोनिक्स व्यवसाय सञ्चालन गरिरहेकै बेला उनले सुर्खेतमा भेरी– कर्णालीको आधिकारिक बिक्रेता हुलास कम्पनीको डिलर शुरु गरे । २०६८ सम्म उनले हुलास कम्पनीका गाडी बिक्री र सर्भिस सेवा दिए । त्यसपछि उनी खाली नै बसे । सुर्खेतमा नयाँ व्यवसाय आरम्भका लागि चार वर्ष अध्ययन गरेको मियाँ बताउँछन् । ‘गरिरहेकोभन्दा अलि फरक खालको व्यवसाय सञ्चालन गर्ने सोच जाग्यो,’ मियाँ भन्छन्, ‘कङक्रिटबाट निर्मित सामग्री उत्पादनका लागि योजना बनाएर सञ्चालन गरे ।’
हाल उनले वीरेन्द्रनगर–४ भैरवस्थानमा ४० कठ्ठा जग्गा भाडामा लिएर फरक व्यवसाय आरम्भ गरेका छन् । सुर्खेत भ्याली सिमेन्ट ब्रिक एण्ड ब्लक उद्योग सञ्चालन गरेर कर्णालीमै पहिलो पटक सिमेन्टबाट उत्पादित कङ्क्रिट सामग्री उत्पादन गरिरहेका छन् । ‘नाफामूलक सेवा सुरु गरेको हुँ,’ मियाँ भन्छन्, ‘ईलेक्ट्रोनिक्स र गाडी व्यवसायपछि जोखिमको यो व्यवसाय हो, महँगो ईट्टामा घर निर्माण गर्नुभन्दा सुलभ दरमा सिमेन्टबाट उत्पादित सामग्री नागरिकलाई बिक्री गर्नु प्रमुख लक्ष्य हो ।’
उद्योगबाट घर निर्माणदेखि पर्खालका लागि आवश्यक भूकम्प प्रतिरोधात्मक सामग्री उत्पादन गरिरहेको मियाँ बताउँछन् । उद्योगबाट मियाँले ईट्टा, बिलडिङ्ग ब्लक, पिल्लर, होलो ब्लक, पार्किङ टायल, पार्किङ बेन्च, प्रिकाष्टका घर र ट्रस लगायतका सामग्री उत्पादन गरिरहेका छन् । गुणस्तरीय सामग्री उत्पादनका लागि मियाँले हाइड्रोलिक अटोमेटिक (स्वचालित) मेशिन समेत भियभयाएका छन् । मेरो प्रयास भूकम्प प्रतिरोधात्मक सामग्री उत्पादन गरेर बिक्री गर्ने रहेकाले बिक्रीको दर बढ्ने अपेक्षा मियाँको छ ।

तपाईको प्रतिक्रिया