जुम्ला । आयआर्जन बढाउन सहकारी संस्थासँग सम्झौता गरिएपछि जुम्लामा जोखिममा रहेका ५७ बालबालिकाका परिवार प्रत्यक्ष लावान्वित भएका छन् । जिल्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा संचालित “बाल छिटो तथा जबरजस्ति बिबाह न्यनिकरण परियोजना” अन्तर्गत सिजा गाउपालिका–२ बिष्टबाडा स्थित लालि गुराँस महिला पशुपन्छी सहकारी संस्था लिमिटेडसँग परियोजना अन्तर्गत गरिने कृयाकलापको लागि सहकार्य सम्झौता गरिएको हो ।
यो परियोजना प्लान ईन्टरनेशनल नेपालको सहयोगमा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाले संचालन गरेको हो । सहकारी संस्थाका अध्यक्ष बिष्णुमाया तिवारी (आचार्य) र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालका उपाध्यक्ष कृष्णबहादुर महतले यही मंसिर २६ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार वडा पालकिाबाट प्राप्त जोखिममा रहेको बालबालिकाहरुको परिवारका महिला सदस्यहरुलाई सहकारीमा आबद्ध गराई आयअर्जनको लागि प्रति परिवार पाँच हजार बराबर सेयर लगानी र पाँच हजार बराबरको बचत रकम उपलब्ध गराउने योजना छ । यस योजनाबाट सिंजा गाउँपालिका–१ र २ वडाका ५७ जना जोखिममा रहेका बालबालिकाहरुको परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
क्याड नेपालका कार्यकारी निर्देशक धनबहादुर गौतमका अनुसार सहकारीमा आबद्ध भएका परिवार बचतको लागि मात्र नभई समुदायमा हुने बाल बिबाह, महिला हिंसा र छाउपडी जस्ता कुसंस्कार बिरुद्ध एकजुट हुनेछन् । भने यसका लागि समुदायमा अभियानहरु पनि संचालन गर्नेछन ।
सम्झौता समारोहमा बोल्दै सिंजा गाउँपालिका वडा नम्बर-२ का सदस्य परिचन्द्र आचार्यले सचेतनामुलक कार्यक्रमसँगै स्थानीयको आयआर्जन बृद्धि गर्न सम्झौता सहकार्यले टेवा पुग्ने बताए । ‘महिलाहरुलाई एकजुट बनाई बचत गर्ने बानीको विकास हुनुका साथै आयआर्जनको लागि सहज हुनेछ’ उनले भने, ‘अब आफना बालबच्चाको पढाई खर्चको लागि साहुसँग ऋण माग्नुपर्ने छैन । सहकारीबाट सजिलै ऋण लिएर व्यवसाय गर्नुका साथै बचत गर्न सजिलो हुनेभयो ।’
नेपालीरैबार । २०७७ मंसिर २८, आईतवार