वातावरण संस्थाद्वारा उत्कृष्ट पाँच कर्मचारी पुरस्कृत

सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उत्कृष्ट पाँच जना कर्मचारीलाई सम्मानित र पुरस्कृत गरेको छ । संस्थाको अठारौं वार्षिक साधारणसभामा पाँच जना कर्मचारीलाई नगदसहित पुरस्कृत गरेको हो ।


कार्यक्रममा गत आर्थिक वर्षमा उत्कृष्टता हासिल गर्ने संस्थाका उत्कृष्ट कर्मचारीहरुलाई नगद तथा प्रमाण पत्रका साथ पुरस्कृत गरिएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।

उनकाअनुसार साधारणसभामा शैक्षिक सत्र २०७६ को एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने पाँच जना शेयर सदस्यका छोराछोरीलाई उच्च शिक्षा छात्रवृत्ती समेत प्रदान गरिएको छ ।

सहकारी ऐन नियम अनुसार एकाई बैठकहरु मार्फत वार्षिक साधारणसभाहरु संचालन गर्नुपर्ने नियमअनुसार चार जिल्लाका एकाई बैठकहरु सम्पन्नपछि संस्थाको साधारण सभा सम्पन्न गरिएको कार्यकारी प्रबन्धक आचार्यले जानकारी दिए ।

एकाई बैठकहरुबाट चयन भएर आएका एकाई प्रतिनिधिहरुको सभामार्फत सोमबार संस्थाको अठारौं वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । संस्थाका सल्लाहकार एवं संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेलले संस्थाले कोरोना महामारीको विषम परिस्थितिमा पनि आफ्ना गतिविधिहरु सुरक्षित ढंगले सम्पादन गर्दै वार्षिक साधारणसभा समेत सम्पन्न गर्नु अति संवेदनशील कार्य भएको बताए ।

उनले आगामी दिनमा सदस्य तथा समुदायको हितमा अझ प्रभावकारी किसिमले कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए । संस्था अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्नसाधारणसभाले संस्थाका सचिव राधाकुमारी ढकालले पेश गरेको संस्थाको चालु आर्थिक वर्ष २०७७-०७८ को पाँच अर्ब ९९ करोड ५४ लाख २२ हजार एक सय ८२ रुपैयाँ ३८ पैसाको संशोधित कार्यक्रम स्वीकृत गरिएको छ ।

यस्तै, आगामी आर्थिक वर्ष २०७८-०७९ को ६ अर्ब ७३ करोड ९७ लाख दुई हजार आठ सय १९ रुपैयाँ ३८ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई पनि स्वीकृत गरिएको छ । । संस्थाले सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा कार्यक्षेत्र विस्तार गरेर सेवा प्रवाह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया