दुईपटक पुलकाे शिलान्यास तर बनेन

कालीकोट । कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा दुईपटक शिलान्यास भएको पक्की पुल अझै बनेको छैन । कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल १० वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए ।

कालीकोटका ५ वटा स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला हुँदै तिब्बत जोड्ने सडकका लागि कर्णाली नदीमा पक्की पुल निर्माण गर्न २०६९ मा कन्काई जेभीले ठेक्का लिएको थियो ।

दुइवर्षभित्र सम्पन्न गर्ने गरी कम्पनीले सम्झौता गरेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार ठेक्का म्याद सकिएको ५ वर्षमा पनि आधा काम भएको छैन । १३ करोड रुपैयाँ बजेट रहेको पुलको लागत अहिले बढेर १७ करोड रुपैयाँ पुगेको डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

उनका अनुसार कन्काई जेभीले अर्को ठेकेदार कम्पनीलाई निर्माणको जिम्मा दिँदा पुल अलपत्र परेको हो । कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले पुनः ठेक्का सम्झौता गरी काम सुरु गरेको उनले जानकारी दिए । स्टिल ट्रससहितको ७५ मिटर लम्बाइको पक्की पुल ठेकेदारले २०७८ असार मसान्तसम्म सक्ने गरी फेरि सम्झौता गरेका छन् ।

भारतको रुपैडियादेखि चीनको मानसरोवर जोड्ने कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ  । सेनाले अधिकांश ठाउँको ट्र्याक खोले पनि पुल नबन्दा यातायातका साधन आउजाउमा समस्या भएको छ  ।

कालीकोटको जितेदेखि हुम्लाको कुवाडीखोलासम्म ९४ किलोमिटर दूरीमा गाडी गुड्न थालेको निर्माण कार्यदल प्रमुख मिलन कार्कीले बताए । उनका अनुसार खुलालुमा पुल नहुँदा नदीको बहाव घटेका बेला मात्रै फेरि सञ्चालन हुने गरेको छ । उनले भने, ‘पुल नहुँदा करिडोरको निर्माण सामग्री ढुवानी गर्न गाह्रो छ ।’

जितेको झोलुंगे पुलबाट डिजेल ल्याउन कठिनाइ भएपछि अहिले व्यवसायीले नदीमा ड्रम बाँधेर त्यसमाथि डिजेलका ड्रम राखेर यातायातका साधन कर्णाली तारिरहेका छन् ।

पुल नहुँदा पलाता गाउँपालिकाले गत फागुनमा ड्रमको सहायताले कर्णाली नदीमा तारेका दुई जिप कर्णालीपारि सञ्चालनमा छन्  ।  गत साउनको वर्षाले बगाएको फुगाडखोलाको बेलिब्रिज पनि अझै बन्न सकेको छैन । पहिरोले बगाएको सडकको चट्टान फोडेर एकतर्फी गाडी चल्ने बनाए पनि खुलालुमा पुल नहुँदा फेरीबाट तारेका जिप र मिनिट्रक जितेदेखि नरहरिनाथ, रास्कोट, पचालझरना, पलाता हुँदै बाजुरासम्म एकतर्फी सञ्चालन भइरहेका छन् ।

कच्ची सडक र पुलको अभाव देखाउँदै व्यवसायीले चर्को गाडी भाडा लिने गरेको स्थानीय जनक विष्टले बताए । ‘बाजुरासम्म सडकको ट्र्याक खुले पनि पुल नहुँदा जिते बजारको झोलुंगे पुलबाट सामान ढुवानी गर्नु परेको छ,’ उनले भने । झोलुंगे पुलमा भरियाबाट सामान ढुवानी गर्दा दैनिक उपभोग्य सामग्री महँगो भएको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताएकाे खवर कान्तिपुर दैनिकमा छ ।

तपाईको प्रतिक्रिया