पालिकालाई पर्यटकको केन्द्रबिन्दु बनाउने आधारहरु के छन् ?
यसका लागि हामीसँग प्रशस्त आधार र स्रोत छन् । तर पूर्वाधार विकासलाई जोड दिनुपर्ने देखिन्छ । यहाँ भएका गुफा संरक्षण, भ्यू टावर निर्माण, गुराँसको जंगलमा पर्यटकलाई रमाउने गरी खान, बस्न र अवलोकन गर्न सजिलो हुने गरी पार्कहरु निर्माण गर्ने तयारीमा छौं । यो ठाउँ पर्यटकका लागि भ्यू प्वाइन्ट पनि हो । यस्तै यहाँ पर्यटक बढाउन राउटे समुदायको कला र संस्कृतीलाई समेत संरक्षण गरिरहेका छौं । पर्यटन विकासबाट पालिका समृद्ध हुन्छ भन्ने ध्येयले पर्यटन पूर्वाधार तयार पार्दैछौं । हाल गुराँसेमा बनेको भ्यू टावर अवलोकन गर्नेहरुको संख्या दिन प्रतिदिन बढेको छ । करिब १६४.७९ वर्ग किलोमिटर क्षेत्रफल रहेको गुराँस गाउँपालिका व्यवसायिक आलु तथा तरकारी उत्पादन र पर्यटनको कारणले प्रख्यात छ ।
गुराँस गाउँपालिकामा सञ्चालित सबैजसो होटेलहरु लोकल कुखुराको मासु, कर्णाली तथा लोहोरे खोलाको माछासहित स्थानीय खानेकुराको कारणले पनि प्रसिद्ध छन् । यहाँ चिसोमा सारै चिसो र तातोमा सारै गर्मीको पनि महसुस हुँदैन । भने कर्णाली प्रदेश राजधानी सुर्खेतबाट प्रदेशका अन्य पहाडी र हिमाली जिल्लामा जानको लागि मूलद्वारको रुपमा रहेको गुराँस गाउँपालिका यिनै विभिन्न आधारले पर्यटकको केन्द्रबिन्दु बन्नसक्छ ।
त्यसका लागि पूर्वाधार निर्माणतर्फ के कस्ता काम भइरहेका छन् ?
हामीले सबैभन्दा बढी पूर्वाधार विकासमा नै जोड दिएका छौं । जसअनुसार आठ वटै वडामा सडक निर्माण गरेका छौं । अहिले बाह्रै महिनामा सवारी सञ्चालन भइरहेका छन् । यसअघि डोकोमै तरकारी र डोकोमै बिरामी बोक्दै आएका यहाँका जनताहरु अहिले गाउँगाउँसम्म एम्बेलेन्स र तरकारी बोक्ने गाडी जान थालेपछि खुशी भएका छन् । यस्तै विद्यालय र स्वास्थ्यचौकी भवन निर्माणको कार्य सञ्चालन गरिरहेका छौं ।
भने हरेक वडामा पाँच वटासम्म खानेपानी आयोजनासमेत निर्माण गरेका छौं । गाउँपालिकाको समृद्धिका लागि विभिन्न क्षेत्रमा पूर्वाधार विकासलाई जोड दिएका छौं । हामी समृद्ध पालिका र सम्पन्न जनता कसरी बनाउन सकिन्छ भन्नेमा छौ । पालिकाको विकास छिटो र पारदर्शीरुपमा होस् भन्ने ध्येयले ८० सदस्यीय पूर्वाधार निर्माण कार्यदलसमेत गठन गरेका छौं । जसअनुसार कार्यदलका सदस्यले भौतिक पूर्वाधार विकासका काम गरिरहेका छन् । उनीहरुले सडक निर्माण, विद्यालयको घेरवार, खानेपानी व्यवस्थापन लगायत क्षेत्रमा काम गर्दछन् ।
यी सबै काम तपाईं निर्वाचित भइसकेपछि मात्रै भएका हुन् र ?
यसअघि पालिका समस्याले झेलिएको थियो । सडक सूचारु भएका थिए, तर काम सम्पन्न भएका थिएनन् । म निर्वाचित भएपछि सबै वडा सडक र यातायातको पहुँजमा पुगेका हुन् । त्यस्तै पहिले ६ वटा स्वास्थ्यचौकी रहेकोमा यहाँको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै पाँच वटा थप स्वास्थ्य ईकाइ हामी निर्वाचित भइसकेपछि स्थापना गरेका हौँ ।
त्यस्तै तीन वटा नयाँ माध्यामिक विद्यालयललाई अनुमति दिएका छौं । भने नयाँ अस्पताल स्थापना गरेका छौं । युवा स्वरोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोष, एम्बुलेन्स सेवा जस्ता धेरै कार्यक्रम म निर्वाचित भएपछि नै भएका छन् ।
गाउँपालिकामा आर्थिक विकासका आधार के छन् ?
यहाँको कृषि तथा पशु व्यवसाय नै आर्थिक विकासको मूख्य आधार हुन् । तर औद्योगिककरणको गति मन्द छ । पालिकाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि, पशुपंक्षी तथा अन्य घरेलु तथा साना उद्योग व्यवसायलाई जोड दिएका छौं । यस गाउँपालिकामा कृषि तथा पशुपंक्षी व्यवसायमा झण्डै ९२ प्रतिशत अत्यधिक जनसंख्या संलग्न छ ।
पढेलेखेका विपन्न र साधारण लेखपढ गर्ने व्यक्तिले पनि सहज रुपमा कृषि, पशुपंक्षी तथा अन्य साना उद्योग व्यवसाय अंगालेका छन् । पालिकाले यो व्यवसायलाई व्यवस्थित गर्न लागेको छ । हाल रहेको मिश्रित व्यवसायिक प्रणालीले कृषि, पशुपंक्षी, वन, जडिबुटी पर्यटन तथा साना व्यवसायको विकास र विस्तार हुन नसकेको अवस्था छ । हरेक वर्ष गाउँपालिकाबाट करोडौंके तरकारी निर्यात हुनेगरेको छ । भने अबको दुई वर्षपछि हरेक वर्ष एक अर्बको तरकारी निर्यात गर्ने गरी हामीले कृषि क्षेत्र विकासका कार्यक्रम बनाएका छौं ।
तर स्थानीय तह र प्रदेश सरकारका कार्यक्रम डुब्लीकेशन हुन्छन् भन्ने छ नी ?
पहिले पहिले यो समस्या थियो । तर पछि हामीले पालिकाको सभाबाट रकामान्तर गर्दा डुब्लीकेशन हुन पाएको छैन । धेरैजसो स्थानीय तहमा अहिले पनि यो समस्या छ भन्ने कुरा सुनिन्छ । तर हाम्रोमा समस्या छैन । कर्मचारी र जनप्रतिनिधिबिच समन्वय पनि राम्रो छ । अहिले कार्यक्रम डुब्लीकेशनदेखि अलपत्र पर्ने समस्या छैन । यदि कतै कार्यक्रम डुब्लीकेशन गरेको पाइएमा कारबाहीको दायरामा ल्याउनुपर्छ ।
राजस्व कत्तिको उठ्छ ?
अहिले देशभरका स्थानीय तह राजस्व असुलीमा एकदम कमजोर पनि छन् । यो समस्याको विषय पनि हो । हाम्रो भूगोल भनेको पहाडी भूगोल हो । पहाडी भूगोलमा जति मेहेनत गरे पनि आन्तरिक राजस्व बढाउन चुनौती छ । अहिले हामीले बालुवा, गिट्टी, काठ लगायत मालपोतको क्षेत्रबाट मात्रै राजस्व संकलन गर्न सकेका छौं । त्यसैले अब आन्तरिक राजस्व वृद्धि गर्न कृषि र पशुपंक्षी क्षेत्रमा साझेदारी व्यवसाय सञ्चालन गर्ने तयारी छ । यसले गर्दा आगामी आर्थिक वर्षबाट थप राजस्व वृद्धि हुनेछ । पालिकामा आन्तरिक राजस्व बढाउने विषयमा छलफल, बहस भइरहेको छ । यसका लागि स्रोतको पहिचान हुँदैछ । त्यसैले भविष्यमा आन्तरीक राजस्वको स्रोत बढ्दै जानेछ । नत्र भने स्थानीय तह सञ्चालनमै समस्या हुन्छ । सधैं प्रदेश सरकार र संघ सरकारकै भर पर्नुपर्ने हुन्छ ।
नीतिगत भ्रष्टाचार गर्न जनप्रतिनिधिको जोड सडक निर्माणमै हुन्छ भन्छन् नी ?
कतिपय ठाउँ र सन्दर्भनुसार यो कुरा सही होला पनि । तर हाम्रो पालिकाको सन्दर्भमा यस्तो छैन । हामीले सुशासन र पारदर्शीतालाई अत्यन्तै ख्याल गरेका छौं । जसनुसार तीन तरिकाबाट सडक मर्मत र निर्माणको काम गरिरहेका छौं । जसमा पहिलोः ठेक्कापट्टा, दोस्रोः उपभोक्ता र तेस्रोः कार्यदलमार्फत् सडक निर्माणमा जोड दिएका छौं । हरेक योजनाको सार्वजनिक सुनुवाइदेखि सामाजिक लेखापरीक्षण हुन्छ । विशेषगरी उपभोक्तामार्फत् बढी काम गर्न खोजियो भने अनियमितता हुन्छ भन्ने गुनासो र सुझाव आएकाले हामीले उपभोक्तालाई पनि खासै प्राथमिकता दिएका छैनौं ।
भौगोलिक कठिनाइले विकासमा चुनौती थपिएको हो ?
पूर्व, पश्चिम दूरीमा भौगोलिक कठिनाइले विकासे गतिविधि सञ्चालन गर्न समस्या छ । जबसम्म हामी समस्या र चुनौतीसँग लड्दैनौं तबसम्म विकास आफै हुने चिज होइन । त्यसैले विगतका वर्षहरुमा हामीले भौगोलिक कठिनाइलाई समस्याका रुपमा लिए पनि अहिले अवसरको रुपमा लिएका छौं । यही अवसरकै कारण हामीले गाउँपालिकाभर विद्युतीयकरण गर्ने तयारी थालेका छांै । अब छिट्टै शतप्रतिशत जनताको घरमा बत्ती पनि बल्छ ।
अन्त्यमा तपाईंको कार्यकालमा हालसम्म गर्न नसकेका र गर्नुपर्ने काम के–के छन् ?
हालसम्म भएका केही अधुरा कामहरु सबै पूरा गर्नुपर्नेछ । त्यसपछि जनताको चाहाना र आवाश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्न सजिलो हुनेछ । हरेक व्यक्तिको क्षमता विकास गरी सकारात्मक सोच निर्माण गर्न जोड दिनेछु । विशेष गरी गाउँपालिकालाई कृषि र पर्यटनबाटै आत्मनिर्भर बनाउनेमा म प्रतिबद्ध छु । अहिले पनि यहाँको तरकारीले सुर्खेत, दैलेखका बजारसँगै कालिकोट र जुम्लाका बजारकोसमेत माग पूर्ति गरेको छ ।
सुरेश आचार्य । २०७७ पुष १, बुधबार