‘लक्ष्य आर्मी बन्ने थियो, तर व्यापारी बनें’

बाल्यकालमा देखिएका हरेक सपना हुर्कदै गरेको जिन्दगीमा विलय हुन्छन् । जिन्दगी सोचे जस्तै बनाउन विगतका बाटोहरु कता छुट्छन जिन्दगीको रफ्तारमा पत्तो हुँदैन् । बाल्यकालका सपना पढ्दै गर्दा पूरा गर्ने बाटोमा दौडिन्छन् तर संघर्षको मैदानमा उत्रिदा छुट्छन् र जिन्दगीले नयाँ गति लिन्छ । तिनै मध्यका एक हुन् टिका वली । सुर्खेतका प्रतिष्ठित व्यवसायी वली बाल्यकालमा देशको सेवा गर्न नेपाली सेनामा जागिर खाने सपना बुनेका थिए । प्लस टू पढ्दासम्म उनको चाहना फौजी बन्ने नै थियो । जिन्दगीको गतिले व्यवसायमा लाग्न बाध्य बनायो । प्लस टूपछि सुर्खेत घुम्न आएका वली एकाएक व्यापारमा होमिए । सुर्खेतका प्रतिष्ठित व्यापारीको पहिचान बनाएका वलीसँग जीवन संघर्ष र सफल व्यवसायी हुन के गर्नुपर्छ भन्ने विषयमा रहेर गरिएको कुराकानीको सम्पादित अंशः

२०३३ सालमा बर्दियाको सानोश्री गाउँ विकास समिति–५ (हाल मधुवन नगरपालिका–३) मा जन्मिएका वली अब्बल व्यापारी हुन् । गाउँकै गुराँस माध्यमिक विद्यालयमा अक्षर चिनेका वलीले एसएलसी पनि त्यहीँ स्कुलबाट दिए । एसएलसी पास भएपछि उनी बबई बहुमुखी क्याम्पस गुलरियाबाट प्लस टूसम्मको अध्ययन पूरा गरे । सामान्य परिवारका उनी घरका एक्ला छोरा हुन् । परिवारको साथ र हौसलाले वलीले देशको सेवा गर्न नेपाल आर्मी हुने सपना बनाएका थिए । प्लस टूको परीक्षा सकिएपछि उनी घुम्न सुर्खेत आए । उनका पुसाइँ ईन्द्रबहादुर केसीको वीरेन्द्रनगरमा कपडा र खाद्य खुद्राको व्यवसाय थियो ।

‘घुम्न भनेर सुर्खेत आएको थिए, पुसाइँले व्यवसाय गर्नुपर्छ सुर्खेत सम्भावना बोकेको क्षेत्र हो भविष्य राम्रो हुन्छ भनेर प्रेरणा दिनुभयो,’ वली विगत सम्झन्छन्, ‘ठाउँ पनि मन परेकाले उहाँकै आग्रहमा व्यवसायका लागि सुरुवात गरे ।’ २०५३ सालमा वलीले पुसाइँ (इन्द्रबहादुर केसी) को पसलमा काम गरेर दैलेख रुटमा रिटलिङको काम सुरु गरे । झण्डै चार वर्षसम्म सुर्खेत–दैलेख खाद्य सामान बिक्री गर्दै बित्यो । दैलेखको चुप्रा व्यापारिक हव थियो ।

कालिकोट, जुम्ला, जाजरकोट लगायत क्षेत्रको नागरिकहरु त्यही ठाउँ पुगेर सामान किन्न आउँथे । व्यापार कसरी गर्ने, उपभोक्ताको मागअनुसार सामान कसरी पुर्‍याउने, व्यापार गर्दा अपनाउनुपर्ने ख्याल पनि चार वर्षमै ग्रहण गर्ने मौका पाए । ‘पुसाइँले दिएको प्रेरणा र उहाँले दिनुभएको स्थानले व्यापारिक यात्रा गर्ने बाटो तय भएको हो,’ वली भन्छन्, ‘२०५८ सालमा चुप्रामै आफै व्यवसाय गर्न सुरु गरेको थिए ।’

संघर्ष र जीवन
नेपालमा सशस्त्र द्वन्द्वले उग्र रुप लिएको थियो । त्यही बेला वलीले चुप्रामा व्यवसायको सुरुवात गरे । तर उनमा एउटै त्रास थियो ‘कतै ठूलो लगानीबाट सुरु गरिएको व्यवसायले उठिवास त बनाउने हैन ।’ नेपाली सेना र तत्कालीन विद्रोही पक्ष माओवादीको चेपुवामा व्यापारी थिए । वलीले पनि पटक–पटक दुवै पक्षको मानसिक तनाव झेल्नुपथ्र्यो ।

‘चन्दा नदिए माओवादीले सताउने, माओवादीलाई सहयोग गर्छस् भन्दै नेपाली सेनाले धम्की दिने जस्ता मानसिक रुपमा ठूलै तनाव भइरहन्थ्यो,’ वली विगत सम्झन्छन्, ‘सेनाले १० पटकसम्म हिरासत लियो, तर विचलित भइन आफ्नो व्यवसायलाई सफल बनाउन प्रगतिपथमा लम्कन खटिरहे ।’

चुप्रामा उनले प्रदिप स्टोर किनेर व्यवसाय आरम्भ गरेका थिए । प्रदिप स्टोरका सञ्चालकलाई तत्कालीन माओवादीले सुराकी गर्ने भन्दै धम्की दिएपछि उनी विस्थापित भएपछि वलीले तीन लाख ७१ हजारमा पसल किनेर व्यवसाय सुरु गरेका थिए ।

व्यवसाय सुरु गरेदेखि शान्ति सम्झौता नहुँदासम्म उनले कयौं संघर्ष गर्नुप¥यो । व्यापारिक हव चुप्रा भएकाले व्यापार कहिल्यै घाटामा गएन । परिवारका सबै सदस्य चुप्रामै बसेर व्यवसायलाई सफल बनाउन वलीले संघर्ष गरे । ‘सशस्त्र द्वन्द्वको समयमा सेना र माओवादीले दिएको तनावले विस्थापित भएको भए आज यो स्थानमा पुग्ने थिएन,’ वलीले भने, ‘जिन्दगीमा आउने हरेक समस्याहरुलाई झेल्ने सामाथ्र्य राख्ने हो भने कहिल्यै हार हुँदैन्, त्यही मन्त्रले होला म आज यो स्थानमा पुगेको छु ।’

सुर्खेत फर्किदा
चार वर्षको अवधिमा चुप्रामा व्यापार राम्रो थियो । विस्तारै सडक विस्तार हुन् थालेपछि चुप्राको बजार ओझेल हुने निक्र्यौल वलीले गरे । विस्तारै चुप्राको व्यापार घटाएर सुर्खेतमै केही गर्ने सोच बनाए । बुबाआमा, श्रीमतीलाई चुप्राको व्यापार धान्न लगाएर उनी सुर्खेत झरे । सुर्खेतमा घर बनाएपछि उनले सुर्खेतमै २०६३ सालदेखि टिका वली स्टोर्स सञ्चालन गरे ।

साविक कर्णाली अञ्चलका कालिकोट र जुम्लामा कर्णाली राजमार्गले गति लिँदै थियो । शान्ति सम्झौतापछि व्यापारिक हव सुर्खेत बन्ने ठानेर उनले सुर्खेतमै व्यवसाय सञ्चालनमा ल्याएका हुन् । ‘मेहेनत र ईमान्दारिता नै व्यापारिक क्षेत्रको मन्त्र हो,’ वलीले भने, ‘सफल व्यवसायी बन्न उपभोक्ताका मागहरुलाई पहिचान गर्दै व्यवसायलाई रुपान्तरण गरेमात्रै सफल व्यवसायी बन्न सकिन्छ ।’

तर वलीलाई यो स्थानमा ल्याउन उनका बुबाआमा, श्रीमती र अन्य आफन्तहरुको ठूलो साथ र सहयोग छ । परिवारका सबै सदस्य व्यापारमा होमिएका छन् । वलीलाई कहिले अप्ठ्यारो हुँदा तिनै परिवारको साथले व्यवसायलाई थप उचाइँमा लैजान हौसला मिलिरहेको छ । वलीले कोभिड–१९ को महामारीमा विपन्न र गरीब परिवारका झण्डै एकसय जनालाई ९० हजार बढीको खाद्यन्न राहत वितरण गरेका छन् ।

अबको लक्ष्य
खाद्यन्न व्यवसायमा अब्बल व्यवसायी वलीको अवको लक्ष्य यही व्यवसायलाई सफल बनाउने हो । टिका वली स्टोर्स एण्ड सप्लायर्सबाटै वलीले सडक सञ्जाल जोडिएका कर्णालीका विभिन्न ठाउँहरुमा आफ्ना सामानहरु पु¥याइरहेका छन् । उनले मुख्यगरी, दैलेख, कालिकोट, मुगु, जुम्ला, सल्लीबजार लगायतका क्षेत्रमा सप्लायर्सले सीजी डिलर, प्रान जुस, मेघा पिठो लगायतका समग्रीहरु सप्लाइ गरिरहेको छ ।

सप्लायर्सले २५ जनालाई रोजगारी दिएको छ । सरकारले कर्णालीमा उद्योग सञ्चालन गर्ने वातावरण मिलाएमा आफ्नै लगानीमा उद्योग सञ्चालन गरेर रोजगारीको दर बढाउने उनको योजना छ । ‘आफूले गरेको पौरख अनुसार व्यवसायबाट सन्तुष्ट छु,’ वलीले भने, ‘राज्यले नै कम्तिमा लगानीको सुनिश्चिता गरे, दुई सय जनालाई रोजगारी दिने उद्योग सञ्चालन गर्ने योजना बनाएको छु ।’

वलीले विगतमा सुर्खेतमै सूर्ति उद्योग सञ्चालन गरेका थिए । तर कच्चा पर्दाथ, अन्य सामग्रीहरु उपलब्ध नहुँदा उद्योग बन्द गरेका थिए । वली भन्छन्, ‘कर्णालीमा उद्योग खोले कच्चा पदार्थ, ठाउँको अभाव, सरकारी अल्झन जस्ता समस्या बढी झेल्नु पर्ने बाध्यता रहेकाले लगानीको सुनिश्चिता सरकारले गरिदिए मात्रै हामी जस्ता व्यापारीलाई उद्योगमा लगानी गर्ने वातावरण बन्छ ।’

तपाईको प्रतिक्रिया